टीकापुरको कर्णाली मावि आधुनिक विद्यालय विकास कार्यक्रमका लागि छनोट

टीकापुर, ३० असोज। कैलालीको टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालय आधुनिक भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि छनोट भएको छ। देशभरका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर सरकारले अघि बढाएको कार्यक्रममा कर्णाली माध्यमिक विद्यालय पनि समेटिएको प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले जानकारी दिएकी छन्।

ज्ञवालीका अनुसार सरकारले विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि बढाएको हो। कार्यक्रमका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको जनाइएको छ।

कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयमा १२ कोठे, तीनतले आधुनिक भवन निर्माणका साथै प्रयोगशाला र पुस्तकालय स्थापना गरिनेछ। यसबाट विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनुका साथै विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कर्णाली माध्यमिक विद्यालय छनोट भएपछि विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा खुसी छाएको ज्ञवालीले उल्लेख गरेकी छन्। उनले विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने नेपाल सरकार, प्रधानमन्त्री बालेन शाह, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललगायत सम्बन्धित सबैप्रति आभार व्यक्त गरेकी छन्।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेकी ज्ञवालीले यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई थप गुणस्तरीय, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
विद्यालय छनोटसँगै अब निर्माणसम्बन्धी प्रक्रिया, पूर्वाधार विकासको कार्यतालिका र कार्यक्रम कार्यान्वयनको अवस्थाले विद्यालयको भौतिक तथा शैक्षिक सुधारको गति निर्धारण गर्नेछ।


