जोशीपुरका १४ विपन्न बालबालिकालाई नयाँ लुगा

जोशीपुर, ३१ असोज । चाडपर्वका बेला आर्थिक अभावमा नयाँ लुगा लगाउन नसक्ने जोशीपुर गाउँपालिकाका १४ जना विपन्न परिवारका बालबालिकालाई नयाँ कपडा वितरण गरिएको छ।

पत्रकार खेमराज जोशीको पहलमा सञ्चालित ‘दशैँमा थोरै खुसी बाँडौँ’ अभियानअन्तर्गत बिहीबार गाउँले रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा बालबालिकालाई कपडा वितरण गरिएको हो।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले पनि दसैँ, तिहार र छठजस्ता चाडपर्वमा नयाँ लुगा लगाउन पाऊन् र खुसी साट्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पत्रकार जोशीले बताए। उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिबाट आर्थिक सहयोग जुटाएका थिए। संकलित सहयोगबाट बालबालिकाका लागि कपडाको व्यवस्था गरिएको हो।

नयाँ लुगा वितरणका लागि आवश्यक कपडाको प्रबन्ध धनगढी उपमहानगरपालिकाका बासिन्दा तथा बेहडाबाबा मन्दिरका पूर्वअध्यक्ष पदमराज जोशीले गरेका थिए। कार्यक्रममा सहभागी उनले बालबालिकालाई कपडा वितरण गरेका हुन्।
समाजसेवी जोशीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफूले वार्षिक रूपमा १२ देखि १५ जना विद्यार्थीको पढाइमा सहयोग गर्ने योजना बनाएको बताए। अहिले पनि केही विद्यार्थीलाई आफ्नै खर्चमा अध्ययन गराइरहेको उल्लेख गर्दै उनले आफूले सकेको सहयोग अरूलाई गर्नुपर्ने धारणा राखे।
‘मानिस जन्मँदा केही लिएर आएको हुँदैन र संसार छाड्दा पनि केही लिएर जाँदैन। त्यसैले जीवन रहँदासम्म आफूले सकेको सहयोग अरूलाई गर्नुपर्छ। सेवा नै धर्म हो,’ उनले भने।
पत्रकार जोशीले चाडपर्वमा आर्थिक अभावका कारण बालबालिकाले आफूलाई अरूभन्दा फरक महसुस गर्न नपरोस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताए। सामाजिक सञ्जालमार्फत सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि विपन्न तथा असहाय परिवारलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने बताए।
चाडपर्वको अवसरमा गरिएको यो सहयोगले विपन्न बालबालिकामा खुसी बाँड्नुका साथै सामाजिक उत्तरदायित्व र आपसी सहयोगको महत्त्वलाई उजागर गरेको छ।


