नक्कली मदिराको कारखानामा प्रहरी छापा, खुकुरी रमदेखि ब्ल्याक लेबलसम्मका ब्रान्डको नक्कल

काठमाडौं, १६ कात्तिक । जाडोमा शरीर तताउने भन्दै मदिरा सेवन गर्ने बानी छ ? यदि छ भने सावधान हुनुहोस् । बजारमा चर्चित स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न ब्रान्डका मदिराको नक्कली उत्पादन गर्ने कारखानामा छापा मार्दा ठूलो परिमाणमा नक्कली मदिरा तथा त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार कारखानामा खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेबल, रुस्लान भोड्का, ८८४८ भोड्का र गोल्डेन ओकजस्ता चर्चित ब्रान्डका मदिराको नक्कल उत्पादन भइरहेको थियो । बाहिरी बोतल, लेबल र प्याकेजिङसमेत सक्कलीजस्तै देखिने गरी तयार पारिएका मदिरा बजारमा पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले कारखानामा छापा मारेर नक्कली मदिरा उत्पादन तथा बिक्रीमा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ । साथै, मदिरा उत्पादनमा प्रयोग हुने उपकरण, खाली बोतल, लेबल, प्याकेजिङ सामग्री र तयारी अवस्थामा रहेका नक्कली मदिरासमेत बरामद गरेको छ ।
बरामद मदिरा हेर्दा सक्कली र नक्कली छुट्याउनसमेत कठिन हुने देखिन्छ । यस घटनाले बजारमा बिक्री भइरहेका मदिराको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
नक्कली मदिरामा प्रयोग गरिएका पदार्थ र त्यसले मानव स्वास्थ्यमा पार्न सक्ने असरबारे थप अनुसन्धान आवश्यक देखिएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरू तथा नक्कली मदिराको बजार सञ्जालबारे अनुसन्धान अघि बढाएको छ ।


