‘बन्द कोठाबाट होइन, खुला छलफलबाट नेतृत्व चयन हुनुपर्छ’- रामलाल डगौरा थारू

‘टीकापुर, , २२ कार्तिक । टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख रामलाल डगौरा थारूले टीकापुरको समग्र विकासका लागि राजनीतिक एकता, खुला छलफल र साझा दृष्टिकोण आवश्यक रहेको बताएका छन् । उनले बर्घर प्रथाको संस्थागत विकास, टीकापुरको ऐतिहासिक विकास योजना, थारू समुदायको पहिचान र राष्ट्रिय राजनीतिमा सुदूरपश्चिमको प्रतिनिधित्वका विषयमा धारणा राख्दै सबै पक्षबीच सहकार्य र सर्वस्वीकार्य नेतृत्व निर्माणमा जोड दिएका हुन् ।

टीकापुर नगरपालिका वडा नं. ४ द्वारा आयोजित दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको सांस्कृतिक शुभमिलन कार्यक्रममा प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई सम्बोधन गर्दै निवर्तमान नगरप्रमुख थारूले यस्तो धारणा राखेका हुन् । कार्यक्रमको सभाध्यक्षता टीकापुर नगरपालिका–४ का वडाध्यक्षले गरेका थिए ।

थारूले बर्घर प्रथालाई सामान्य सामाजिक संरचनाका रूपमा नभई सम्मानित सांस्कृतिक पहिचान र समुदायको महत्वपूर्ण सम्पत्तिका रूपमा बुझ्नुपर्ने बताए । स्थानीय सरकारले कानुनी मान्यता दिएको बर्घर प्रथालाई अझ संस्थागत र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो ।
नगरपालिकाले बर्घर घर स्थापना गर्ने, बजेट विनियोजन गर्ने तथा मासिक सञ्चार र यातायात खर्चको व्यवस्था गर्ने विषयमा छलफल र निर्णय गरिसकेको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनले बताए ।

‘हरेक कुरा कल्पना गरेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ । नेतृत्वले जिम्मेवारी लिने हो भने त्यसको कार्यान्वयनमा कर्मचारीतन्त्र र सम्बन्धित निकायले पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने, ‘बर्घर हाम्रो चिरकुट वा झेलकुट होइन, सम्मानित पहिचान हो ।’
उनले बर्घर प्रथालाई परम्परागत अभ्यासमा सीमित नराखी यसको मूल मर्म र सांस्कृतिक मूल्य जोगाउँदै संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । बर्घर समुदायलाई फरक दृष्टिले हेर्ने नभई सम्मानका साथ व्यवहार गर्नुपर्ने उनको भनाइ थियो ।
थारूले टीकापुरको योजनाबद्ध विकासको इतिहाससमेत स्मरण गरे । उनका अनुसार स्वर्गीय खड्गबहादुर सिंहले गृहमन्त्री, भूमिसुधारमन्त्री तथा कृषि र खाद्य संस्थानको जिम्मेवारी सम्हालेका बेला टीकापुरको योजनाबद्ध विकासको अवधारणा अघि बढेको थियो । २०२६ सालतिर यससम्बन्धी जिम्मेवारी लिइएको र २०२८ साउन १ गते टिकापुर विकास समिति गठन भएपछि सिंह समितिको संस्थापक अध्यक्ष बनेका थिए ।

राज्यसत्ताको मूलधारमा रहेर टीकापुरलाई योजनाबद्ध सहरका रूपमा विकास गर्ने अवधारणा अघि बढाइएको उल्लेख गर्दै उनले अहिले पनि टीकापुरको विकासका धेरै काम अधुरा रहेको बताए । संस्थापकहरूले सुरु गरेको विकासको जिम्मेवारी वर्तमान पुस्ताले पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
‘स्वर्गीय खड्गबहादुर सिंहले राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेर टीकापुरको विकासको जग बसाल्नुभयो । आज हामीले त्यसलाई पूरा गर्नुपर्नेछ । टीकापुरलाई आफ्नै फूलबारीझैँ सिँगार्ने काम अझै बाँकी छ,’ उनले भने ।
आफूले साढे तीन वर्ष कार्यकाल बाँकी रहँदै नगरप्रमुख पदबाट राजीनामा दिएको प्रसंग उल्लेख गर्दै थारूले व्यक्तिगत पद र सुविधाभन्दा टीकापुरको दीर्घकालीन विकासलाई प्राथमिकता दिएको बताए । तत्कालीन समयमा राजीनामा दिएर केन्द्र सरकारको राजनीतिमा सहभागी हुने र त्यसबाट क्षेत्रको विकासमा योगदान पुर्याउने आफ्नो सोच रहेको उनले स्पष्ट पारे ।
उनले तत्कालीन काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहको राजनीतिक यात्राको प्रसंग जोड्दै स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा पुग्न सकिने सम्भावना औँल्याए । आफूले पनि स्थानीय तहको जिम्मेवारी छाडेर राष्ट्रिय राजनीतिमा भूमिका खोजेको भए टीकापुर र समग्र सुदूरपश्चिमको विकासका लागि थप अवसर सिर्जना हुन सक्ने उनको तर्क थियो ।

‘यदि सेवा–सुविधा मात्रै लिन चाहेको भए मेरो कार्यकाल अझै डेढ वर्ष बाँकी थियो । त्यो समय पनि म पदमै रहेर बिताउन सक्थेँ । तर, मेरो उद्देश्य पदमा बसिरहनु होइन, टीकापुरको विकासका लागि केन्द्र सरकारसम्म पुगेर भूमिका खेल्नु थियो,’ उनले भने ।
केन्द्र सरकार नै बजेट, नीति तथा योजना निर्माण गर्ने मुख्य ठाउँ भएकाले स्थानीय तहका योजनालाई प्रभावकारी बनाउन केन्द्रमा बलियो प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ थियो । थारू समुदायको पहिचान, राष्ट्रियता, नदी कटान, डुबान तथा भौतिक पूर्वाधारका समस्या समाधान गर्न आफू निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाए ।
निर्वाचनका क्रममा दुर्गम क्षेत्रका समस्या नजिकबाट देखेको उल्लेख गर्दै उनले सुदूरपश्चिमलाई विकासका दृष्टिले सुगम र समृद्ध बनाउन केन्द्रमा प्रभावकारी प्रतिनिधित्व आवश्यक रहेको बताए । इच्छाशक्ति, जोस र जाँगर हुँदाहुँदै पनि अवसर र पहुँच नहुँदा क्षेत्र पछाडि पर्न सक्ने उनको बुझाइ थियो ।
कार्यक्रममा थारूले नागरिक उन्मुक्ति पार्टी नेपालभित्रको एकता र नेतृत्व निर्माणको विषयलाई पनि प्राथमिकताका साथ उठाए । आफूहरू मिलेर अघि बढ्नुपर्नेमा दुईमत नरहेको बताउँदै उनले एकता भाषण र नाराबाट मात्र सम्भव नहुने धारणा राखे । त्यसका लागि खुला छलफल, पारदर्शिता, आपसी विश्वास र सामूहिक हितलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो ।
‘मिल्नुपर्छ, जुट्नुपर्छ भन्नेमा दुईमत छैन । तर मिल्ने आधार के हो ? त्यो आधार खुला छलफल र पारदर्शिताबाट बन्नुपर्छ । कोठा बन्द गरेर होइन, खुला किताबजस्तै सबै कुरा छर्लङ्ग हुने गरी छलफल गर्नुपर्छ,’ उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ समस्या पहिचान गरेर समाधान खोज्नुपर्छ । निजी स्वार्थभन्दा सामूहिक स्वार्थलाई प्राथमिकता दिएर टिमवर्कमा अघि बढ्नुपर्छ ।’
उनले पार्टीको मूल मर्म, सिद्धान्त, भिजन र मिसनलाई स्पष्ट पार्दै सबैलाई समेट्न सक्ने नेतृत्व निर्माण गर्नुपर्ने बताए । पार्टीभित्र फरक मत राख्नेहरूलाई पनि समेट्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले बन्द कोठामा सीमित निर्णयले पार्टीलाई बलियो बनाउन नसक्ने धारणा राखे ।
पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्ने हो भने सर्वमान्य र सर्वस्वीकार्य नेतृत्व निर्माण गर्नुपर्ने उनको सुझाव थियो । मेचीदेखि महाकालीसम्म अभियान सञ्चालन गरेर सबै समुदाय, क्षेत्र र वर्गलाई समेट्ने राजनीतिक वातावरण बनाउनुपर्ने उनले बताए ।
आगामी दिनमा थारू तथा जनजाति समुदायबाट देशको प्रधानमन्त्री बन्न सक्ने राजनीतिक सम्भावनासमेत औँल्याउँदै थारूले त्यसका लागि अहिलेबाटै खुला र पारदर्शी राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए ।
‘भोलि थारू तथा जनजाति समुदायबाट प्रधानमन्त्री बन्ने अवस्था आउन सक्छ । त्यसका लागि अहिले नै सबैलाई स्वीकार्य हुने वातावरण बनाउनुपर्छ । नेतृत्व बन्द कोठाबाट होइन, खुला प्रतिस्पर्धा र साझा सहमतिबाट स्थापित हुनुपर्छ,’ उनले भने ।

उनले पार्टीभित्रको एकता कुनै व्यक्तिलाई स्थापित गर्ने उद्देश्यमा सीमित नभई साझा विचार, सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा अघि बढ्नुपर्नेमा जोड दिए । सबैलाई समेट्ने माहोल निर्माण गर्न सके मात्रै नागरिक उन्मुक्ति पार्टी नेपालले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको विश्वास थियो ।
कार्यक्रमको अन्त्यमा थारूले दशैं, तिहार तथा छठ पर्वको अवसरमा टीकापुरवासी र क्षेत्रवासीलाई व्यक्तिगत तथा शुभकामना व्यक्त गरे । विभिन्न समुदाय, राजनीतिक दल, सामाजिक क्षेत्रका अगुवा, समाजसेवी, भद्रभलाद्मी, बर्घर तथा सांस्कृतिक कार्यक्रममा सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सबैको कला, संस्कृति र प्रतिभाको सम्मान गर्नुपर्ने बताए ।
उनले कार्यक्रममा समय छुट्याएका अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै बाँकी समय स्थानीय कलाकारका नृत्य, कला र सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्न आग्रह गरे । सांस्कृतिक कार्यक्रमले सामाजिक सद्भाव, आपसी सम्बन्ध र समुदायबीचको एकतालाई थप बलियो बनाउने उनको भनाइ थियो ।


You must be logged in to post a comment.