पिकनिकस्थलमा विवाद गरेका युवक भोलिपल्ट पुलमुनि मृत फेला

धनगढी, २३ कार्तिक । कैलालीको गोदावरीमा पिकनिक खान पुगेको समूहसँग विवाद गर्दै हतियार प्रहार गर्न खोजेका एक युवक भोलिपल्ट मृत अवस्थामा फेला परेका छन् ।
गोदावरी नगरपालिका–४ स्थित पुलमुनि आइतबार बिहान २७ वर्षीय शेरबहादुर रानामगरको शव फेला परेको हो । उनी सोही वडाका स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार गोदावरीमा पिकनिक खान पुगेको एक समूहसँग रानामगरले विवाद गर्न खोजेका थिए । पिकनिक खाइरहेका व्यक्तिहरूको दाउ जबर्जस्ती खोसेर प्रहार गर्न खोजेपछि उनीहरू भागेर ज्यान जोगाउन सफल भएका थिए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले रानामगरलाई नियन्त्रणमा लिएर थप अवस्था बुझ्न आमाबुवाको जिम्मा लगाएको थियो । तर, त्यसको भोलिपल्टै उनी पुलमुनि मृत फेला परेपछि घटनाले नयाँ मोड लिएको छ ।
स्थानीयका अनुसार रानामगर प्रायः मादक पदार्थ सेवन गरेर हिँड्ने गर्थे । उनको मानसिक अवस्था पनि सामान्य नरहेको स्थानीयको भनाइ छ ।
युवक मृत भेटिएको खबरपछि अस्थायी प्रहरी पोस्ट गोदावरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरिएको छ ।
रानामगरको मृत्यु कसरी भयो भन्ने खुलेको छैन । उनको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

