घटना

गुजरातको अटल सरोवरमा नेपाली परिवार र बाउन्सरबीच झडप, महिलामाथि दुर्व्यवहारको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजकोट, २८ कात्तिक । भारतको गुजरात राज्यस्थित राजकोटको चर्चित पर्यटकीय स्थल अटल सरोवरमा घुम्न गएको एक नेपाली परिवार र सुरक्षामा खटिएका बाउन्सरबीच विवाद हुँदा हिंसात्मक झडप भएको छ । बिहीबार भएको घटनामा बाउन्सरहरूले परिवारका महिलामाथिसमेत कुटपिट र अभद्र व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्राप्त विवरणअनुसार, नेपाली परिवारका एक युवकले मदिरा सेवन गरी स्पिकर बोकेर सरोवर परिसरभित्र प्रवेश गर्न खोजेपछि विवाद सुरु भएको थियो । सरोवर परिसरमा ठूलो आवाजमा गीत बजाउन प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले स्पिकर लैजान रोकेपछि दुवै पक्षबीच भनाभन भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हिंसात्मक झडपमा परिणत भएको बताइएको छ ।

घटनापछि नेपाली परिवारका महिलाहरूले बाउन्सरहरूले आफूहरूमाथि समेत हातपात गरेको र अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले यसलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

राजकोटस्थित युनिभर्सिटी प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा नेपाली परिवारसँग रहेका युवकले मदिरा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनीविरुद्ध गुजरातको मदिरा निषेधसम्बन्धी कानुन (प्रोहिबिसन ऐन) अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ ।

यद्यपि, घटनामा बाउन्सरहरूको भूमिकाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूले अनावश्यक बल प्रयोग गरेको वा महिलामाथि कुटपिट तथा दुर्व्यवहार गरेको पुष्टि भएमा बाउन्सरहरूविरुद्ध समेत छुट्टै प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरी कानुनी कारबाही अघि बढाउन सकिने प्रहरीले जनाएको छ ।

घटनाले पर्यटकीय स्थलमा सुरक्षाको नाममा खटिने कर्मचारीको व्यवहार र पर्यटकको सुरक्षासम्बन्धी प्रश्नसमेत उठाएको छ ।

बिज्ञापन