घटना

क्यान्सरको उपचार गराएर फर्किंदै गरेकी नेपाली महिलामाथि ट्याक्सीमै दुर्व्यवहार, आरोपी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गौरीफन्टा, २८ कात्तिक । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट उपचार गराएर नेपाल फर्किंदै गरेकी एक नेपाली महिलामाथि यात्राकै क्रममा ट्याक्सीभित्र दुर्व्यवहार भएको छ । गौरीफन्टा सीमानाका हुँदै नेपाल आउने क्रममा बिहीबार राति भएको घटनामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

पीडित महिलाका अनुसार उनी क्यान्सरको उपचारपछि ट्याक्सीमार्फत नेपाल फर्किंदै थिइन् । HR 38 AJ 6328 नम्बरको भारतीय ट्याक्सीमा चालकसहित अर्का एक युवक पनि सवार थिए । रातिको समयमा थकानका कारण आफू आराम गरिरहेको अवस्थामा ती युवकले आफूमाथि अनुचित व्यवहार गर्दै शरीरका संवेदनशील अंगमा छोएको महिलाको आरोप छ ।

आफूमाथि दुर्व्यवहार भएपछि महिलाले तत्काल प्रतिवाद गर्दै ट्याक्सी चालकलाई समेत घटनाबारे जानकारी गराएकी थिइन् । तर, चालकले कुनै प्रभावकारी कदम नचालेको पीडितको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन
AD

शुक्रबार बिहान ट्याक्सी गौरीफन्टा सीमानाकामा पुगेपछि महिलाले प्रहरीलाई घटनाबारे जानकारी गराउने प्रयास गरेकी थिइन् । त्यसै क्रममा आरोपित युवक भारतीय सीमाक्षेत्रमै ट्याक्सीबाट ओर्लिएर भागेका थिए ।

पीडितको जानकारीपछि भारतीय प्रहरीले युवकको खोजी सुरु गरेको थियो । करिब दुई घण्टाको खोजीपछि प्रहरीले दीपेन्द्र भनिने युवकलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका युवक र घटनामा प्रयोग भएको ट्याक्सीलाई भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ । हाल धनगढीस्थित त्रिनगर प्रहरी चौकीले आरोपित युवक र ट्याक्सी चालक दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

पीडित महिलाले आफूमाथि भएको घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै भिडियोसमेत सामाजिक सञ्जालमा राखेकी छन् । क्यान्सरजस्तो गम्भीर रोगको उपचार गराएर घर फर्किने क्रममा आफूले भोग्नुपरेको घटनाले थप पीडा दिएको उनको भनाइ छ ।

घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन