आस्था /आध्यात्म

ललितपुरको इमाडोलमा बृहत् सत्संग कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २८ कार्तिक । दिल्लीबाट आउनुभएका ज्ञानप्रचारक महात्मा विनोद वहोरा जीले सत्सङ्गमा उपस्थित साधसङ्गतलाई सम्बोधन गर्दै मानिसले जीवनभर धन, सम्पत्ति, पद र प्रतिष्ठा हासिल गर्न अनेकौँ संघर्ष गरे पनि अन्ततः संसारबाट रित्तो हात बिदा हुनुपर्ने बताउनुभयो । उहाँले मानव जीवनको वास्तविक उद्देश्य भौतिक उपलब्धि हासिल गर्नु मात्र नभई आफ्नो वास्तविक स्वरूपको पहिचान गर्नु र परमात्माको अनुभूति गर्नु रहेको उल्लेख गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापन

उहाँले ८४ लाख योनिको चक्रपछि प्राप्त हुने मानव जीवन अत्यन्त दुर्लभ र अमूल्य अवसर भएको उल्लेख गर्दै यसलाई निद्रा, भोजन, भोग र भयजस्ता शारीरिक आवश्यकतामा मात्र सीमित गर्न नहुने बताउनुभयो । सतगुरुको शरणमा पुगेर ब्रह्मज्ञान प्राप्त गर्नु, आत्माको वास्तविक स्वरूप चिन्नु र परमात्मासँगको सम्बन्ध अनुभूति गर्नु नै मानव जीवनको सार्थकता भएको उहाँको भनाइ थियो ।

‘उठ जाग मुसाफिर, भोर भई’ भन्ने आध्यात्मिक भावको व्याख्या गर्दै उहाँले मानव जीवनलाई नयाँ बिहानीसँग तुलना गर्नुभयो । सूर्य उदाइसकेको भए पनि सिरक ओढेर सुतिरहेको व्यक्तिले उज्यालोको अनुभूति गर्न नसक्ने दृष्टान्त प्रस्तुत गर्दै उहाँले बाहिरी संसारमा उज्यालो छाउनु र मानिसको आन्तरिक चेतनामा जागृति आउनु फरक विषय भएको बताउनुभयो । मानिस अज्ञानताको निद्राबाट ब्युँझिएर आफ्नो वास्तविक पहिचान गर्न थालेपछि मात्र जीवनको वास्तविक बिहानी सुरु हुने उहाँको भनाइ थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

मानिस जन्मिएपछि आमाबुवा, परिवार, आफन्त र सांसारिक सम्बन्धमा रमाउँदै आफूलाई जीवन प्रदान गर्ने परमात्मालाई बिर्सने गरेको उहाँले उल्लेख गर्नुभयो । यस सन्दर्भमा ‘बीचों गर्भ में निकल आया, खसम बिसार मुनि चित लाया’ भन्ने पवित्र वाणी उद्धृत गर्दै उहाँले मानिसले आफ्नो मूल उद्देश्य बिर्सेर क्षणिक सांसारिक आकर्षणमै जीवन बिताइरहेको बताउनुभयो ।

सांसारिक उपलब्धिको क्षणभङ्गुरता स्पष्ट पार्न उहाँले विश्वविजेता सिकन्दरको प्रसङ्ग सुनाउनुभयो । आधा संसार विजय गरिसक्दा पनि बाँकी आधा संसार जित्ने आकाङ्क्षा राखेका सिकन्दरलाई एक फकिरले धनसम्पत्ति र शक्ति हुँदाहुँदै पनि सन्तुष्ट हुन नसक्नु नै वास्तविक गरिबी भएको भाव व्यक्त गरेका थिए । उक्त प्रसङ्गबाट प्रभावित सिकन्दरले मृत्युपछि आफ्नो मलामीमा दुवै हात बाहिर निकालिदिन आग्रह गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले संसार जित्ने सम्राट्समेत अन्ततः रित्तो हात बिदा हुनुपर्ने वास्तविकता बुझाउनुभयो ।

यसै सन्दर्भमा ‘आए थे जिस काम को, भूल गए वो बात, क्या मुख दिखलावे राम को, जो खाली दोनों हाथ ?’ भन्ने आध्यात्मिक भाव प्रस्तुत गर्दै उहाँले मानिसले जीवनको वास्तविक उद्देश्य पूरा गर्न सकेको छ कि छैन भनेर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । धन, सम्पत्ति, पद र प्रतिष्ठा यही संसारमा छाडेर जानुपर्ने भएकाले तिनलाई मात्र जीवनको सफलता ठान्नु उचित नहुने उहाँको भनाइ थियो ।

उहाँले मानिसले सगरमाथाको चुचुरोदेखि चन्द्रमा र मङ्गलग्रहसम्म पुग्ने ज्ञान तथा प्रविधि विकास गरे पनि आफू को हुँ, कहाँबाट आएको हुँ र जीवनको वास्तविक गन्तव्य के हो भन्ने प्रश्नको उत्तर खोज्न नसकेको बताउनुभयो । संसारका अनेकौँ विषयको ज्ञान हासिल गर्नु महत्वपूर्ण भए पनि आफ्नै आत्मस्वरूपको पहिचानबिना जीवनको पूर्णता सम्भव नहुने उहाँको सन्देश थियो ।

ब्रह्मज्ञान र परमात्माबारे सुनेको वा पुस्तकमा पढेको जानकारी मात्र नभई उहाँको प्रत्यक्ष अनुभूति र आत्मिक चेतनाको जागरण भएको उहाँले स्पष्ट पार्नुभयो । परमात्मा कण–कणमा विद्यमान हुनुहुन्छ भन्ने कुरा जान्नु र त्यसलाई आफ्नो जीवनमा अनुभूत गर्दै व्यवहारमा उतार्नुबीच ठूलो भिन्नता रहेको उहाँको भनाइ थियो ।

सिंहको बच्चा भेडाको बथानमा हुर्किएर आफूलाई भेडा नै ठान्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले मानिस पनि अज्ञानताका कारण आफ्नो वास्तविक स्वरूप बिर्सेर सांसारिक पहिचानमै सीमित भइरहेको बताउनुभयो । जसरी सिंहको बच्चालाई आफ्नो वास्तविक परिचय गराउन आवश्यक हुन्छ, त्यसरी नै मानिसलाई पनि ब्रह्मज्ञानमार्फत आत्मपहिचान गराउनु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

आध्यात्मिक जागृतिको वास्तविक अर्थ प्रत्येक प्राणीभित्र एउटै परमात्माको ज्योति रहेको अनुभूति गर्नु भएको बताउँदै उहाँले जाति, भाषा, क्षेत्र र बाहिरी भिन्नताभन्दा माथि उठेर सबैप्रति प्रेम, सम्मान र सद्भाव राख्नुपर्नेमा जोड दिनुभयो । सतगुरुको ज्ञानले मानिसभित्र रहेको अहंकार, ईर्ष्या, घृणा, द्वेष र अशान्ति हटाउँदै प्रेम, शान्ति, सहिष्णुता तथा मानवीयताको भावना विकास गराउने उहाँले बताउनुभयो ।

उहाँले मानव जीवन संसारका उपलब्धि हासिल गर्ने अवसर मात्र नभई आफूलाई चिन्ने र परमात्माको अनुभूति गर्ने अनुपम अवसर भएको उल्लेख गर्नुभयो । ब्रह्मज्ञान प्राप्त गरी आत्मसाक्षात्कार गर्नु, सबै प्राणीमा एउटै परमात्माको ज्योति देख्नु तथा प्रेम, सेवा र सद्भावसहित जीवन बिताउनु नै वास्तविक जागृति भएको उहाँको मूल सन्देश थियो ।

कार्यक्रममा श्री अर्जुन र साथीहरू, दलबहादुर राना (केन्द्रीय सदस्य), हरिसिद्धि–ठैव साधसङ्गत, पद्मराज रेग्मी, हरिसिद्धि महिला सङ्गीत समूह, सन्तकुमार श्रेष्ठ, बालसङ्गत, सञ्जिम टमट्टा, वीरेन्द्र र साथीहरू, हृदय गणेश र साथीहरू, बाबुराज महर्जन (क्षेत्रीय सेवादल सञ्चालक), बेचु रजक (केन्द्रीय सदस्य), सरस्वती र साथीहरू, देवराज रिमाल (केन्द्रीय सदस्य), नरबहादुर बटाला (क्षेत्रीय सेवादल सञ्चालक), रानी वहोराजी, नरबहादुर विश्वकर्मा (सहसचिव), नरबहादुर रावल (अध्यक्ष) तथा बाबुकाजी र साथीहरूले भजन, विचार एवं हरदेव वाणीमार्फत आ–आफ्ना भाव व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, राजेन्द्र कोलीले मङ्गलाचरण प्रस्तुत गर्नुभएको थियो भने दीपिका र साथीहरूले सुमिरन धुनि प्रस्तुत गर्नुभएको थियो । भजन, विचार, हरदेव वाणी र सुमिरनले कार्यक्रमस्थल भक्तिमय बनेको थियो । कार्यक्रममा सत्सङ्गको महत्त्व, ब्रह्मज्ञान, आत्मिक जागृति, सेवा र सद्भावको सन्देश प्रवाह गरिएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव अनिल महर्जनले गर्नुभएको थियो ।

बिज्ञापन