घटना

२ करोड ७२ लाखका सुनका भाँडा चोरीको आरोपमा नेपाली युवकको खोजी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राजस्थान, २९ कार्तिक । भारतको राजस्थानस्थित श्रीगंगानगर जिल्लाको पदमपुरमा दीपावलीका अवसरमा पूजाका लागि राखिएका करिब २ करोड ७२ लाख रुपैयाँ मूल्यका सुनका भाँडाकुँडा चोरी भएको छ । चोरीमा घरमै खाना पकाउने काम गर्दै आएका नेपाली युवक सुनील कुमार संलग्न रहेको आरोप लागेको छ ।

लोक कल्याणकारी विज्ञापन

दिवंगत पूर्व नगरपालिका अध्यक्ष घनश्याम दास शर्माका छोरा तथा व्यवसायी मिमांसक शर्माको घरबाट करिब दुई किलो तौलका सुनका सामग्री चोरी भएका हुन् । चोरी भएका सामग्रीमा एउटा सुनको थाली, तीनवटा कचौरा, एउटा गिलास र एउटा चम्चा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीमा दर्ता भएको उजुरीअनुसार सुनील विगत दुई महिनादेखि उक्त घरमा खाना पकाउने काम गर्दै आएका थिए । उनलाई घरको मन्दिर सफा गर्ने जिम्मेवारीसमेत दिइएको थियो । त्यसैले पूजाका लागि राखिएका सुनका सामग्रीबारे उनलाई जानकारी रहेको परिवारको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन
AD

घटना गत नोभेम्बर ९ अर्थात् दीपावलीको रात भएको बताइएको छ । उक्त रात सुनीलले परिवारका सदस्य तथा घरका अन्य कर्मचारीलाई खाना पकाएर खुवाएका थिए । राति करिब ९ बजेपछि सबैजना सुत्न गएको र भोलिपल्ट बिहान ८ बजे सुनील घरमा नभेटिएपछि खोजी सुरु गरिएको थियो ।

परिवारले खानामा नशालु पदार्थ मिसाइएको हुन सक्ने आशंका गरेको छ । तर यसको पुष्टि भइसकेको छैन । घरमा खोजतलास गर्दा मन्दिरमा राखिएका सुनका सामग्रीसमेत गायब भएपछि सीसीटीभी फुटेज जाँच गरिएको थियो ।

फुटेजमा राति ११ बजेर ४ मिनेटमा सुनील मन्दिरबाट बाहिर निस्किएको र त्यसको नौ मिनेटपछि ११ बजेर १३ मिनेटमा घरको मुख्य गेटबाट बाहिर गएको देखिएको प्रहरीसमक्ष जानकारी गराइएको छ ।

घटनाको अनुसन्धानका लागि श्रीकरणपुरका डीएसपी पुष्पेन्द्र जोलाले घटनास्थलको निरीक्षण गरेका छन् । प्रहरीले डग स्क्वाडसमेत परिचालन गरी प्रमाण संकलन गरेको छ । पदमपुर प्रहरीले सुनील कुमारविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) का धारा १२३ र ३०६ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।

घटनापछि आरोपित युवक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ । दीपावलीको अवसरमा भगवानको पूजाका लागि मन्दिरमा सजाएर राखिएका करोडौँ मूल्यका सुनका सामग्री चोरी भएपछि पदमपुरमा घटनाले चर्चा पाएको छ ।

बिज्ञापन