भारतमा नक्कली परिचयपत्र बनाएर बसेका लम्कीचुहाका गोपीराम जैसी पक्राउ

लम्कीचुहा, ३० कात्तिक । भारतमा नक्कली परिचयपत्र बनाएर रोजगारी गरिरहेको आरोपमा कैलालीका एक नेपाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारत–नेपाल सीमा नजिकैको वनबसा क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–९ निवासी ५० वर्षीय गोपीराम जैसी रहेका छन् । उनी मणिराम जैसीका छोरा हुन् । प्रहरीका अनुसार उनको साथबाट भारत र नेपालका परिचय तथा स्थायी बसोबाससम्बन्धी कागजात बरामद भएका छन् ।
वनबसा प्रहरी थानाध्यक्ष लक्ष्मण सिंह जगवाडका अनुसार चेकजाँचका क्रममा जैसीको साथबाट भारतीय आधार कार्ड, प्यान कार्ड र ड्राइभिङ लाइसेन्स फेला परेको थियो । ती कागजातमा उनको नाम गोपाल शर्मा, उमेर ५० वर्ष, बुवाको नाम पुरुषोत्तम शर्मा र ठेगाना जीटी रोड पञ्चवटी, गाजियाबाद, उत्तर प्रदेश उल्लेख छ ।
प्रहरीका अनुसार नेपाली नागरिक जैसीले गाजियाबादमा एक दलालमार्फत भारतीय कागजात बनाएका थिए । उनी हरियाणामा फेसन शोसम्बन्धी काम गर्ने ग्रेभिस कम्पनीमा कार्यरत रहेको खुलेको छ । भारतीय कागजातकै आधारमा उनले गाजियाबादस्थित भारतीय स्टेट बैंक (एसबीआई) मा बैंक खातासमेत खोलेको प्रहरीले जनाएको छ ।
प्रहरीले जैसीविरुद्ध भारतीय न्याय संहिताअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । नक्कली कागजात बनाउन सहयोग गर्ने दलालको खोजी भइरहेको वनबसा प्रहरीले जनाएको छ ।
भारतमा रोजगारीका लागि जाने धेरै नेपालीले काम पाउन तथा विभिन्न सेवा सुविधा लिन दलालमार्फत आधार कार्ड, प्यान कार्डलगायत भारतीय कागजात बनाउने गरेको पाइन्छ । कतिपय अवस्थामा नेपाली नागरिक भएको जानकारी हुँदाहुँदै पनि रोजगारदाता वा कम्पनीले भारतीय कागजात बनाउन दबाब दिने गरेका छन् ।
भारतमा रोजगारी गरिरहँदा यस्ता कागजातका कारण तत्काल समस्या नदेखिए पनि नेपाल–भारत सीमा वारपार गर्दा दुवै देशका कागजात फेला परेपछि कानुनी झन्झटमा पर्ने जोखिम बढेको छ । पछिल्लो घटनाले भारतमा रोजगारी गरिरहेका नेपाली नागरिकको परिचयपत्र र कागजातसम्बन्धी समस्यालाई फेरि सतहमा ल्याएको छ ।

