टीकापुरमा सन्त निरंकारी भवनको बृहत् सरसफाइ अभियान

टीकापुर, ३० कार्तिक । सन्त निरंकारी सत्सङ्ग भवन टीकापुरले सन्त निरंकारी सत्सङ्ग भवन परिसरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । दशै, दीपावली तथा छठ पर्वको बिदाको अन्तिम दिन पारेर सोमबार भवन परिसरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान आयोजना गरिएको हो ।

सन्त निरंकारी सत्सङ्ग भवन टीकापुर, युनिट नम्बर २५४ को आयोजनामा भएको अभियानमा आठ वर्षका बालबालिकादेखि ८५ वर्षका ज्येष्ठ नागरिकसम्म सहभागी भएका थिए । अभियानमा सेवादलका महिला तथा पुरुष, अधिकारी, मुखी र अन्य महापुरुषहरूले सामूहिक रूपमा भवन परिसरको सरसफाइ गरेका थिए ।
अभियान अन्तर्गत भवन परिसरमा रहेका झारपात, फोहोर तथा अनावश्यक हाँगाबिगा हटाउनुका साथै वातावरणलाई स्वच्छ र आकर्षक बनाइएको थियो । उमेरको कुनै सीमा नराखी सबैले आ–आफ्नो क्षमता अनुसार सेवा कार्यमा सहभागी हुँदै सामूहिक सेवा, समर्पण र सहकार्यको उदाहरण प्रस्तुत गरेका थिए ।
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले दिएको जानकारी अनुसार आगामी दिनमा सन्त निरंकारी मुख्यालय दिल्लीबाट आउनुहुने ज्ञानप्रचारक महात्मा विनोद वोहरा जी तथा उहाँकी धर्मपत्नी रानी वोहरा जीको स्वागत तथा सम्मानको तयारीस्वरूप पनि सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
उहाँहरूको उपस्थितिमा हुने आध्यात्मिक कार्यक्रमबाट लाभ लिन टीकापुर तथा आसपासका सम्पूर्ण साधसङ्गतलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

