पोखरामा ज्ञानप्रचारक बिनोद वोहराको प्रवचनसहित सत्सङ्ग कार्यक्रम सम्पन्न

पोखरा, , ०१ मंसिरा । सन्त निरंकारी मण्डल, दिल्लीको केन्द्रीय कार्यालयबाट नेपाल भ्रमणमा आउनुभएका ज्ञानप्रचारक महात्मा बिनोद वोहरा जीले ब्रह्मज्ञानको प्रकाशले मानिसको आत्मा जागृत हुने र जीवनमा प्रेम, सद्भाव तथा आनन्दको अनुभूति हुने बताउनुभएको छ ।

पोखरामा आयोजित सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानिस शारीरिक रूपमा जीवित भए पनि आध्यात्मिक चेतना र परमात्माप्रतिको प्रेमबाट विमुख हुँदा उसको जीवन अन्धकारमय बन्ने उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँकी धर्मपत्नी रानी वोहरा जीको पनि उपस्थिति थियो ।
गुरु नानक देव जीको वाणी ‘मृतक कहिए नानका जे प्रीत नहीं भगवान’ उद्धृत गर्दै बोहरा जीले परमात्माप्रति प्रेम नभएको मानिसलाई आध्यात्मिक रूपमा मृततुल्य मान्न सकिने बताउनुभयो । मानिसले आफ्नो वास्तविक स्वरूप र जीवनको उद्देश्य पहिचान गर्न नसक्दा माया, मोह र सांसारिक आकर्षणमा अल्झिएर जीवनको अमूल्य समय बिताइरहेको उहाँको भनाइ थियो ।
उहाँले आत्मा अज्ञानको अन्धकारमा रहँदा मानिस सही र गलत छुट्याउन नसकी विभिन्न कर्मको चक्रमा अल्झिने बताउनुभयो । ज्ञानको सूर्य उदाएपछि आत्मा प्रकाशित हुने, मानिसमा चेतना जाग्ने र जीवनमा आनन्दको अनुभूति हुने उहाँले उल्लेख गर्नुभयो । “मानिस शारीरिक रूपमा जीवित हुनु मात्र पर्याप्त होइन, उसको आत्मा पनि चेतन र प्रकाशित हुनुपर्छ,” उहाँले भन्नुभयो ।
परमात्मा सत्य, चेतन र आनन्दस्वरूप अर्थात् ‘सच्चिदानन्द’ हुनुहुन्छ भन्दै बोहरा जीले आत्मा परमात्माको अंश भए पनि जीव मायामा अल्झिँदा आफ्नो वास्तविक स्वरूप र आनन्द बिर्सिने बताउनुभयो । सांसारिक मोहका कारण जीवले अनेकौँ जन्म र शरीर परिवर्तनको चक्रमा भौँतारिनुपर्ने अवस्था आउने उहाँको भनाइ थियो । मानव शरीर प्राप्त भएपछि पूर्ण सतगुरुको शरणमा पुगेर ब्रह्मज्ञान प्राप्त गर्नु जीवनको महत्वपूर्ण अवसर भएको उहाँले बताउनुभयो ।
सतगुरुको कृपाबाट प्राप्त ज्ञानले आत्मालाई आफ्नो मूल स्वरूपसँग परिचित गराउने उल्लेख गर्दै उहाँले ज्ञान प्राप्तिपछि सबै प्राणीमा एउटै परमात्माको अंश रहेको भाव विकास हुनुपर्ने धारणा राख्नुभयो । बाबा हरदेव सिंह जी महाराजको वाणी स्मरण गर्दै उहाँले कण–कणमा परमात्माको उपस्थिति अनुभव गर्न सके सबैसँग प्रेम र सम्मानको व्यवहार गर्न सकिने बताउनुभयो । उहाँका अनुसार मानिसले बाहिरी रूप, जाति, भाषा र भिन्नताभन्दा माथि उठेर सबैप्रति सद्भाव राख्नुपर्छ ।
ब्रह्मज्ञान प्राप्त गर्नु मात्र आध्यात्मिक जागृति नभई त्यसलाई जीवनभर व्यवहारमा उतार्नु आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । सतगुरु माता सुदीक्षा जी महाराजको सन्देश उल्लेख गर्दै वोहरा जीले ब्रह्मज्ञानलाई एकछिन बल्ने सलाईको काँटी नभई निरन्तर प्रकाश दिइरहने ज्योतिका रूपमा बुझ्नुपर्ने बताउनुभयो । ज्ञान प्राप्त गरेपछि त्यसको चेतना क्षणिक रूपमा मात्र नभई जीवनको अन्तिम श्वाससम्म कायम राख्नुपर्ने उहाँको भनाइ थियो ।
ज्ञानको ज्योति निरन्तर जागृत राख्न सत्सङ्ग, सेवा र सिमरनलाई महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै उहाँले यी अभ्यासले मानिसको मनलाई परमात्मासँग जोडिराख्ने बताउनुभयो । सत्सङ्गमा सहभागी हुनु मात्र नभई त्यहाँबाट प्राप्त विचारलाई दैनिक जीवनमा लागू गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो । सत्सङ्गको समयमा शरीरसँगै मन पनि एकाग्र हुनुपर्ने र आफ्नो व्यवहारले अरूको साधनामा बाधा नपुग्ने गरी सचेत रहनुपर्ने उहाँको सुझाव थियो ।
ब्रह्मज्ञानको महत्व बुझाउन उहाँले लालटिनको उदाहरणसमेत प्रस्तुत गर्नुभयो । दृष्टिविहीन व्यक्तिले आफूले प्रकाश देख्न नसक्ने भन्दै लालटिन बोक्नुको औचित्य नदेखे पनि त्यसको प्रकाशले अरूलाई आफू ठोक्किनबाट बचाउन सक्ने साथीले सम्झाएको प्रसङ्ग सुनाउनुभयो । तर लालटिन बोकेर हिँड्नु मात्र पर्याप्त नभई त्यसको प्रकाशको सही उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी ब्रह्मज्ञान प्राप्त गरेको दाबी गर्नु वा आफूलाई ज्ञानी ठान्नुको सट्टा ज्ञानअनुसारको आचरण गर्नु महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
बाबा हरदेव सिंह जी महाराजले निन्दा, घृणा, द्वेष र ईर्ष्याबाट टाढा रहन तथा सत्सङ्ग, सेवा र सिमरनमा जीवन समर्पित गर्न प्रेरणा दिनुभएको स्मरण गर्दै उहाँले मानिसले आफ्ना विचार, बोली र कर्मको नियमित आत्ममन्थन गर्नुपर्ने बताउनुभयो । आफूले गर्नुपर्ने असल काम गरिरहेको छु कि छैन र त्याग्नुपर्ने गलत व्यवहार दोहोर्याइरहेको छु कि छैन भन्ने प्रश्न हरेक व्यक्तिले आफैँसँग गर्नुपर्ने उहाँको सुझाव थियो ।
उहाँले ज्ञानको प्रकाशले सत्य र असत्य, सही र गलत तथा अविनाशी र नश्वरबीचको भिन्नता बुझ्न सहयोग गर्ने बताउनुभयो । जीवनमा अघि बढ्नु मात्र पर्याप्त नहुने भन्दै सही दिशा र गन्तव्य पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो । सतगुरुले मुक्ति मार्ग देखाइदिनुहुन्छ, तर त्यस मार्गमा हिँड्ने जिम्मेवारी स्वयं व्यक्तिको हुने उहाँले स्पष्ट पार्नुभयो ।

सांसारिक माया र मोहबाट मनलाई हटाएर परमात्मा तथा सतगुरुप्रति एकनिष्ठ हुनुपर्नेमा जोड दिँदै बोहरा जीले मानव जीवनको सार्थकता ज्ञानलाई व्यवहारमा उतार्नु, आत्मालाई जागृत राख्नु र सबैसँग प्रेम तथा सम्मानको व्यवहार गर्नुमा रहेको बताउनुभयो ।
सत्सङ्ग कार्यक्रममा कुलबहादुर के.सी. जी, महादेव जी, रुक्मणी जी, वीरबहादुर जी, देवराज रिमाल जी (केन्द्रीय सदस्य), शान्त सुब्बा जी, सबिता जी, भगत सुब्बा जी, लाल सुब्बा जी, मन सुब्बा जी, देवबहादुर जी, चन्द्रकला जी, भगतराम बोहरा, उमा जी, सुमन जी र तेजबहादुर बोहराले भजन तथा प्रवचनमार्फत आ–आफ्ना आध्यात्मिक भाव र विचार प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन टंक गुरुङ्ग जीले गर्नुभएको थियो ।


You must be logged in to post a comment.