स्याङ्जामा आध्यात्मिक जागरणको सन्देश फैलाउँदै बृहत् सत्सङ्ग

स्याङ्जा, २ मंसिर । मानव जीवनको वास्तविक उद्देश्य धनसम्पत्ति, मानसम्मान र सांसारिक सुखसुविधा प्राप्त गर्नु मात्र नभई आफ्नो वास्तविक स्वरूप पहिचान गरी अविनाशी परमात्मासँग सम्बन्ध जोड्नु रहेको सन्त-महात्माहरूले बताएका छन् । सद्गुरुबाट प्राप्त ब्रह्मज्ञान, सत्सङ्ग र विवेकपूर्ण जीवनशैलीले मानिसलाई नाशवान् मोह, अहङ्कार र अज्ञानताबाट मुक्त गराउँदै आत्मज्ञानको मार्गमा अघि बढाउने उनीहरूको भनाइ छ ।


सन्त निरंकारी मण्डलको आयोजनामा मङ्गलबार (२०८३ मङ्सिर ९) साँझ ४ देखि ६ बजेसम्म आयोजित बृहत् सत्सङ्ग कार्यक्रममा दिल्लीबाट आउनुभएका ज्ञानप्रचारक विनोद वोहरा जीले विभिन्न दृष्टान्त, हरदेव बाणी र आध्यात्मिक प्रसङ्गमार्फत मानव जीवनको सार्थकता बुझाउनुभयो ।
उहाँले मानिसले जीवनको सुरुदेखि नै आमा-बुबा, परिवार, साथीभाइ, इष्टमित्र, धनसम्पत्ति, व्यापार र मानसम्मानप्रति मोह बढाउँदै जाने तर जीवनको अन्तिम समयमा यीमध्ये कुनै कुराले साथ नदिने बताउनुभयो । त्यसैले नाशवान् संसारमा मात्र आसक्ति नराखी अविनाशी परमात्मासँग नाता जोड्नुपर्ने उहाँको सन्देश थियो ।

भगवान् श्रीकृष्णको जन्माष्टमीमा मनाइने माखन चोरीको प्रसङ्गलाई आध्यात्मिक प्रतीकका रूपमा व्याख्या गर्दै उहाँले माखनले असल तत्त्व र सारतत्त्व ग्रहण गर्ने सन्देश दिने बताउनुभयो । माटोको हाँडीलाई मानव शरीरको प्रतीक मान्दै पाँच तत्त्व माटो, अग्नि, जल, वायु र आकाशबाट बनेको शरीर अन्ततः तिनै तत्त्वमा विलीन हुने तर आत्माको वास्तविक स्वरूप र परमात्मासँगको सम्बन्ध ब्रह्मज्ञानबाट मात्र बुझ्न सकिने उल्लेख गर्नुभयो ।
असलको खोजी र विनम्रतालाई जीवनको वास्तविक उपलब्धि बताउँदै उहाँले संसारका मानिसहरू धनसम्पत्ति, प्रतिष्ठा र मायामोहको पछि लाग्ने गरे पनि सन्त-महात्माहरू सधैँ सत्य र सारतत्त्वको खोजीमा रहने बताउनुभयो । भौतिक उपलब्धिहरू छायासरह भएकाले तिनको पछि दौडिएर पूर्ण सन्तुष्टि प्राप्त नहुने भन्दै छायाको पछि लाग्नुभन्दा त्यसको वास्तविक स्रोत परमात्माको खोजी गर्नुपर्ने उहाँको भनाइ थियो ।
कबीर साहेबको ‘बुरा जो देखन मैं चला, बुरा न मिलिया कोई, जब घट खोजा अपना, मुझसे बुरा न कोई’ भन्ने वाणी उद्धृत गर्दै उहाँले अरूको दोष खोज्नुभन्दा पहिले आफ्नै कमजोरी पहिचान गर्नुपर्ने बताउनुभयो । सन्तको पहिचान अहङ्काररहित जीवन, प्रेम, नम्रता र सेवाभाव भएको उल्लेख गर्दै सबैमा एउटै परमात्माको स्वरूप देख्न सके मानिसको जीवन प्रेम र सद्भावले भरिने उहाँले बताउनुभयो ।
त्यसैगरी अजर, अमर र अविनाशी परमात्माको अर्थ स्पष्ट पार्दै उहाँले अजर अर्थात् बुढ्यौली नआउने, अमर अर्थात् मृत्यु नहुने र अविनाशी अर्थात् सधैँ अस्तित्वमा रहने परमात्मासँग मनको सम्बन्ध जोड्नुपर्ने बताउनुभयो । मानिसले जस्तो सङ्गत गर्छ, उसको सोच र व्यवहार पनि त्यस्तै बन्ने भएकाले दुर्व्यसन, जुवातास तथा नकारात्मक वातावरणबाट टाढा रही सन्त-महात्माहरूको सङ्गत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सत्सङ्गमा सुरुमा मन नलागे पनि निरन्तर सत्सङ्ग र ब्रह्मज्ञानको अभ्यासले परमात्माप्रतिको प्रेम बढ्दै जाने उहाँको भनाइ थियो । रावण र हिरण्यकश्यपजस्ता पात्रको उदाहरण दिँदै शक्ति, धन र ऐश्वर्यको घमण्डले मानिसलाई वास्तविक सत्यबाट विमुख बनाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

बालुवा र चिनी मिसिएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले विवेकको महत्त्व पनि बुझाउनुभयो । हात्तीले बालुवासँग मिसिएको चिनी छुट्याउन नसके पनि सानो कमिलाले चिनीका कण पहिचान गरी ग्रहण गर्न सक्ने उदाहरण दिँदै मानिसले पनि संसारका असार कुराहरू त्यागेर परमात्मा र ब्रह्मज्ञानजस्ता सारतत्त्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।
भगत कबीरको ‘मन तू सोच स्वरूप है, अपना मूल पहचान’ भन्ने वाणीको भाव प्रस्तुत गर्दै उहाँले मानिसले आफ्नो वास्तविक स्वरूप चिन्नुपर्ने बताउनुभयो । यसका लागि सद्गुरु तथा ब्रह्मज्ञानी महात्माहरूको शरणमा गई विनम्रतापूर्वक ज्ञान प्राप्त गर्नुपर्ने र उनीहरूको मार्गदर्शनअनुसार जीवन अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । भगवान् श्रीकृष्णले अर्जुनलाई ब्रह्मज्ञानी महात्माको शरणमा गई ज्ञान प्राप्त गर्न दिएको सन्देशको प्रसङ्ग उल्लेख गर्दै उहाँले सच्चा जिज्ञासुले विनम्रतापूर्वक ज्ञानको याचना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मिना क्षेत्रीले आरती वन्दना प्रस्तुत गर्नुभएको थियो । दुर्गा केसी थापा र सुनिता गोदारले कविता वाचन गर्नुभएको थियो । समृद्धि, विजेत तथा साथीहरू, जेनिसफर तथा साथीहरू र स्पन्दन एवं मिराजले भजन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी स्याङ्जा सत्संग भवनका मुखी भिम बहादुर थापा, मानबहादुर केसी, यमबहादुर खत्री, देवराज रिमाल (केन्द्रीय सदस्य), रानी वोहरा (दिल्ली), मुल्की, दिपेन्द्र केसी र यमबहादुर बरालले आध्यात्मिक विचार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको मुख्य सन्देशका रूपमा सद्गुरुबाट ब्रह्मज्ञान प्राप्त गरी सत्य र असत्य छुट्याउने विवेक विकास गर्न, अहङ्कार तथा सांसारिक मोह त्याग्न, सबैप्रति प्रेम र सद्भाव राख्न तथा सत्सङ्ग, सुमिरन र सेवामार्फत जीवनलाई सार्थक बनाउनुपर्नेमा जोड दिइएको थियो ।


You must be logged in to post a comment.