आस्था /आध्यात्म

दाङमा वृहत सत्संग : परमात्माको पहिचान नै मानव जीवनको वास्तविक उद्देश्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तुलसीपुर (दाङ), ३ मंसिर । मानव जीवनको वास्तविक उद्देश्य भौतिक धन, पद, प्रतिष्ठा र सांसारिक उपलब्धि मात्र नभई निराकार परमात्माको पहिचान गरी नाम धन सञ्चय गर्नु रहेको सन्देश दाङको तुलसीपुरमा आयोजित सत्सङ्ग कार्यक्रममा दिइएको छ । सतगुरुको ब्रह्मज्ञानबाट परमात्मालाई चिन्न सके जीवन सार्थक बन्ने र मानिस मायामोहबाट मुक्त भई आध्यात्मिक मार्गमा अघि बढ्ने विचार प्रस्तुत गर्दै दिल्लीबाट आउनुभएका ज्ञान प्रचारक महात्मा बिनोद वोहरा जीले बताउनुभएको हो ।

लोक कल्याणकारी विज्ञापन

सन्त निरंकारी मण्डल, दिल्ली मुख्यालयबाट नेपाल प्रचार यात्रामा आउनुभएका महात्मा वोहरा जीले तुलसीपुरस्थित सन्त निरंकारी सत्सङ्ग भवनमा आयोजित कार्यक्रममा साधसङ्गतलाई सम्बोधन गर्दै मानव जीवनको महत्त्व, परमात्माको पहिचान, नाम धनको महिमा र सद्गुरुको ज्ञानबारे प्रकाश पार्नुभएको थियो ।

प्रवचनमा मीराबाईको प्रसङ्ग उल्लेख गर्दै भगवान् कृष्णको मूर्ति लिएर वर्षौं भजन गाउँदै हिँडे पनि वास्तविक आध्यात्मिक शान्ति र ज्ञान प्राप्त नभएको बताउनुभयो । रविदास जीको शरण प्राप्त भएपछि निराकार परमात्माको बोध भएको र त्यसपछि उनको भजनको भाव परिवर्तन भएको प्रसङ्ग सुनाउँदै ‘पायो जी मैंने राम रतन धन पायो’ वाणीको भाव प्रस्तुत गर्नुभयो । परमात्माको वास्तविक ज्ञान प्राप्त भएपछि जीवनको आध्यात्मिक यात्रा सहज हुने उहाँले बताउनुभयो ।

लोक कल्याणकारी विज्ञापन
AD

संसारमा कमाएको धनसम्पत्ति मृत्युपछि यहीँ छुट्ने भएकाले भौतिक सम्पत्तिलाई स्थायी धन ठान्नु भ्रम भएको उहाँले उल्लेख गर्नुभयो । सद्गुरुको माध्यमबाट परमात्माको ज्ञान प्राप्त गरी नाम धन सञ्चय गर्ने व्यक्ति नै वास्तविक धनी हुने बताउँदै कबीरदास जीको वाणीमा नाम धन भएको व्यक्ति नै सच्चा साहुकार र राजा भएको भाव व्यक्त गर्नुभयो ।

दृश्य संसारका सम्पूर्ण वस्तु नश्वर रहेको उल्लेख गर्दै जन्मने वस्तुको अन्त्य निश्चित हुने, फुल्ने वस्तु ओइलाउने र निर्माण भएका संरचना एक दिन भत्किने बताउनुभयो । बादलको छायाँजस्तै क्षणिक संसारमा मोह राख्नुभन्दा अविनाशी निराकार परमात्मासँग नाता जोड्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

मानव जीवन विशेष उद्देश्यका लागि प्राप्त भएको बताउँदै एक परमपिता परमात्मालाई चिन्नु र उहाँको अनुभूति गर्नु नै जीवनको वास्तविक लक्ष्य रहेको उहाँले बताउनुभयो । सूर्य, चन्द्रमा, तारा, पृथ्वी, अग्नि, पानी, वायु, आकाश तथा अन्न र अक्सिजनजस्ता जीवनका आधारभूत तत्त्वहरू मानवले निरन्तर उपयोग गरिरहेको चर्चा गर्दै यी सबै प्रदान गर्ने परमदाता परमात्मालाई चिन्नु नै सच्चा भक्ति र ज्ञान भएको उहाँले उल्लेख गर्नुभयो ।

सतगुरुको ब्रह्मज्ञानले सत्य र असत्य, माया र परमात्माबीचको भिन्नता छुट्याउन विवेक प्रदान गर्ने बताउँदै अज्ञानताको पर्दा हटेपछि मात्र परमात्माको वास्तविक स्वरूप अनुभव गर्न सकिने उहाँले उदाहरण प्रस्तुत गर्नुभयो । जसरी आँखामा मोतियाबिन्दु हुँदा वस्तु स्पष्ट देखिँदैन र उपचारपछि दृष्टि स्पष्ट हुन्छ, त्यसरी नै सतगुरुको कृपा र ब्रह्मज्ञानबाट अज्ञानता हटेपछि परमात्माको अनुभूति सम्भव हुने उहाँले बताउनुभयो ।

पूजापाठ, तीर्थ, व्रत, दान, योग तथा ध्यानजस्ता बाह्य क्रियाकलाप मात्रले वास्तविक ज्ञान प्राप्त नहुने उल्लेख गर्दै निराकार परमात्मालाई जान्नु, चिन्नु र जीवनमा उहाँको अनुभूति गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । सन्त-महात्माहरूको संगत, सत्सङ्ग र सद्गुरुको शरणबाट ब्रह्मज्ञान प्राप्त गरी जीवनलाई सही दिशामा अघि बढाउन सकिने सन्देश दिनुभयो ।

मानव चोला ८४ लाख जुनीपछि प्राप्त हुने दुर्लभ अवसर भएको उल्लेख गर्दै प्राप्त विवेक र बुद्धिको सदुपयोग गरी आफ्नो मूल परमात्मालाई चिन्नुपर्ने उहाँले बताउनुभयो । सतगुरु माता सुदीक्षा जी महाराजले मानवलाई चेतना र जागृतिको मार्गमा प्रेरित गरिरहनुभएको उल्लेख गर्दै परमात्माको नाम धन सञ्चय, सन्तहरूको संगत र ब्रह्मज्ञानलाई जीवनको आधार बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वीणा पाण्डेले मङ्गलाचरण प्रस्तुत गर्नुभएको थियो भने दीपा जीले सुमिरन धुन गायन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सन्त निरंकारी मण्डलकी केन्द्रीय सदस्य पुष्पा डाँगीले गर्नुभएको थियो । सत्सङ्ग भवनकी मुखी शारदा जिसी लगायत विभिन्न स्थानबाट आएका साधसङ्गत तथा महात्माहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सल्यानबाट विद्या एवं साथीहरू, सावित्रा जी, तेज बोहरा जी, दीपा सावित्री जी, छवि जी, दिल्लीबाट आउनुभएकी महात्मा रानी वोहरा जी, हरिकला जी, हर्कबहादुर जी, रुद्र चन्दन जी, प्युठानबाट रेशम भट्टराई, शिक्षक राकेश जी, केन्द्रीय सदस्य दलबहादुर राना, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, लेखबहादुर जी, टेकबहादुर जी लगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन