चकलेटको प्रलोभनमा परेकी १४ वर्षीया नेपाली किशोरीको बेंगलोरमा उद्धार

बेंगलोर, ४ मंसिर । भारतको बेंगलोरमा चकलेटको प्रलोभन देखाएर एक नेपाली किशोरीलाई अलपत्र अवस्थामा पुर्याइएको घटनामा प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । जाजरकोट घर भएकी १४ वर्षीया शर्मिला सुनारको बुधबार सुरक्षित उद्धार गरिएको हो ।

हालै विवाह गरेर बेंगलोर पुगेकी शर्मिला घरबाट नजिकैको पसल जाने क्रममा एक अपरिचित भारतीय व्यक्तिको सम्पर्कमा पुगेकी थिइन् । ती व्यक्तिले काम लगाइदिने प्रलोभन देखाउँदै उनलाई चकलेट दिएका थिए । चकलेट खाएपछि आफू असहज अवस्थामा पुगेको र होस गुमाएको बताइएको छ ।

त्यसपछि उनी बेंगलोरको कोरमंगला क्षेत्रमा पुगेकी थिइन् । स्थानीय भाषा नबुझ्ने र मानसिक रूपमा त्रसित अवस्थामा सडकमा अलपत्र परेकी उनलाई स्थानीय प्रहरीले फेला पारेको थियो । प्रहरीले उनलाई सुरक्षित रूपमा मडिवाला प्रहरी चौकीमा ल्याएर सोधपुछ गरेको थियो ।
नेपाली साथीहरूको समन्वयमा उनले आफ्नो नाम, उमेर र घर जाजरकोट भएको जानकारी गराउन सकेकी थिइन् । घटनाबारे जानकारी पाएपछि समाजसेवी मनोज सिंह धामी परिवारसहित प्रहरी चौकी पुगेका थिए । उनले प्रहरीसँग समन्वय गर्दै किशोरीका आफन्तको खोजीमा सहयोग गरेका थिए ।
प्रहरी प्रशासन र नेपाली समुदायको निरन्तर समन्वय तथा खोजीपछि बुधबार राति शर्मिलालाई उनका आफन्तसँग पुनर्मिलन गराइएको बताइएको छ ।
किशोरीको सुरक्षित उद्धार तथा परिवारसँग पुनर्मिलन गराउन सहयोग गर्ने मनोज सिंह धामी, स्थानीय प्रहरी प्रशासन र अन्य सहयोगीप्रति आभार व्यक्त गरिएको छ । उनीहरूको सक्रियताले किशोरीलाई थप जोखिममा पर्नबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
घटनाले अपरिचित व्यक्तिले दिने खानेकुरा, मिठाई वा अन्य प्रलोभनप्रति विशेष सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । विशेषगरी बालबालिका तथा किशोरीहरूलाई अपरिचित व्यक्तिको विश्वासमा नपर्न, उनीहरूले दिएको खानेकुरा नलिन र कुनै असहज परिस्थिति आइपरे तत्काल नजिकका प्रहरी वा विश्वासिला व्यक्तिलाई जानकारी गराउन आग्रह गरिएको छ ।


You must be logged in to post a comment.