टीकापुरमा धान बेच्न पाँच दिनदेखि गोदाममै किसान

टीकापुर, ६ मंसिर । सरकारी मूल्यमा धान बिक्री गर्ने आशामा कैलालीको टीकापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम पुगेका किसान पाँच दिनदेखि पालो कुरेर बसेका छन् । टीकापुर नगरपालिका–५ सैपुरका एक किसान धान बिक्री गर्न गोदाम पुगे पनि खरिद प्रक्रिया पूरा नहुँदा पाँच दिनदेखि त्यहीँ रात बिताउन बाध्य भएका छन् ।

निजी व्यापारीले उचित मूल्य नदिँदा उत्पादन लागतसमेत उठाउन कठिन हुने किसानको गुनासो छ । मल, सिँचाइ, मजदुर र खेतीपातीमा गरेको लगानीअनुसार मूल्य नपाएपछि सरकारी समर्थन मूल्यमा धान बिक्री गर्न उनीहरू खाद्य कम्पनीको गोदाम पुग्ने गरेका छन् ।
तर, सरकारी खरिद केन्द्रमा समेत लामो समय पालो कुर्नुपर्ने भएपछि किसान थप समस्यामा परेका छन् । धान बिक्रीका लागि दिनौँसम्म गोदाम परिसरमा बस्नुपर्दा खाना, बसाइ र अन्य खर्चसमेत बढ्ने गरेको छ ।
किसानले उत्पादन गरेको धान समयमै खरिद गरी बिक्री प्रक्रिया सहज बनाउनुपर्ने उनीहरूको अपेक्षा छ । सरकारी खरिद केन्द्र किसानका लागि राहत बन्नुपर्नेमा लामो प्रतीक्षाको बाध्यता नहोस् भन्ने उनीहरूको माग छ ।

