टीकापुरसहित कैलालीका सात स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुँदै

टीकापुर, ६ मंसिर । कैलालीको भूमि प्रशासन कार्यालय, टीकापुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहहरूलाई भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमै सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार सूचना जारी भएको एक महिनाभित्र सम्बन्धित स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले सेवा हस्तान्तरण तथा सञ्चालनका लागि समन्वय गर्न आग्रह गरेको हो ।
भूमि प्रशासन कार्यालय टीकापुरले मंसिर ४ गते पत्राचार गर्दै टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका तथा जोशीपुर, जानकी, बर्दगोरिया र मोहन्याल गाउँपालिकालाई तोकिएको समयभित्र सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहजीकरणका लागि कार्यालयका नायब सुब्बा प्रेम प्रकाश सिंहलाई फोकल पर्सन तोकिएको छ । सम्बन्धित स्थानीय तहले उहाँसँग समन्वय गरी सेवा सञ्चालनको प्रक्रिया अघि बढाउन कार्यालयले आग्रह गरेको छ ।
मन्त्रालयको च.नं. ४३८, मिति २०८३/०७/१६ को पत्रअनुसार भूमि प्रशासन सेवा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि कार्यालयले उक्त पत्र जारी गरेको हो ।



You must be logged in to post a comment.