घटना

चिसापानीमा जात्राका क्रममा झडप, चार प्रहरी घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँके, ८ मंसिर । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार मंगलबार बिहान करिब ४ बजे जात्रास्थलमा स्थानीय २३ वर्षीय मनोज सुनार, २८ वर्षीय दीपक सुनार, २० वर्षीय दिनेश सुनारलगायत १५ जनाको समूहले मादक पदार्थ सेवन गरी बैजनाथ गाउँपालिका–१ बानियाभारका ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेको थियो । कुटपिटबाट घाइते थापाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीको कमान्डमा ११ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । कुटपिटमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

घटनामा संलग्न रहेको आरोपमा मनोज सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ढुङ्गामुढाका क्रममा प्रहरी नायब निरीक्षक गिरी, प्रहरी सहायक हवल्दार बालकृष्ण जिसी, प्रहरी सहायक हवल्दार रेशम चौधरी र प्रहरी जवान अमर खत्री घाइते भएका छन् । स्रोत : प्रस पत्र

बिज्ञापन