सडकपुर बौनियामा आत्मकल्याणको मार्ग देखाउँदै ज्ञान प्रचारक बिनोद वोहरा

सडकपुर (बौनिया), १० मंसिर । साँचो ज्ञान प्राप्तिका लागि मानिसले आफू ठूलो, विद्वान्, धनवान् वा बलवान् छु भन्ने अहंकार त्याग्नुपर्नेमा जोड दिइएको छ । सतगुरुको ज्ञानलाई केवल सुन्ने र बुझ्ने मात्र नभई व्यवहारमा उतार्न सके मात्र आत्मकल्याण र जीवनमुक्तिको मार्ग प्रशस्त हुने आध्यात्मिक सन्देश दिइएको हो ।


सन्त निरंकारी मण्डल, प्रधान कार्यालय दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारक महात्मा बिनोद वोहरा जीले मंगलबार कैलालीको सडकपुर, बौनियास्थित निरंकारी सत्संग भवनमा आयोजित सत्संगमा उपस्थित साधसंगतलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । काठमाडौँ हुँदै कैलाली पुग्नुभएका उहाँले सन्तहरूको सान्निध्य, सतगुरुको वचन र सत्संगको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रवचनका क्रममा उहाँले परमात्मा (निरंकार) लाई चिन्नु मात्र पर्याप्त नभई त्यसमा पूर्ण रूपमा एकाकार हुनु नै वास्तविक आध्यात्मिक प्राप्ति भएको बताउनुभयो । मानिसले आफ्नो चतुरता, अहंकार र ‘मेरो’ भन्ने भाव त्यागेर सतगुरुको ज्ञानलाई जीवनमा आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो । नेत्रहीन व्यक्तिले लाल्टिन बोकेर हिँड्दैमा बाटो उज्यालो नहुने दृष्टान्त प्रस्तुत गर्दै ज्ञानको वास्तविक उज्यालो जीवनमा व्यवहारबाट देखिनुपर्ने सन्देश दिनुभयो ।

उहाँले गुरुमुख र मनमुखबीचको भिन्नता बाहिरी व्यवहारमा नभई हृदयको भावमा रहने उल्लेख गर्नुभयो । गुरुमुखले भित्र र बाहिर दुवैतिर निस्वार्थ प्रेम र सद्भाव राख्ने तर मनमुखले बाहिर प्रेम देखाए पनि मनभित्र स्वार्थ, द्वेष र अहंकार पाल्ने भएकाले मानिसले आफ्नो आचरण सुधार्नुपर्नेमा जोड दिनुभयो ।

हरदेव वाणीको प्रसंग उल्लेख गर्दै सन्तको सान्निध्यले जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । विषरूपी विकार त्यागेर परमात्माको नामरूपी अमृत ग्रहण गर्न सके मात्र मानिसले वास्तविक मुक्ति र आत्मिक आनन्द प्राप्त गर्ने उहाँको भनाइ थियो । मानव हुनुको सार्थकता शारीरिक बनावटमा नभई प्रेम, करुणा, नम्रता, सहिष्णुता र परोपकारजस्ता गुणको विकासमा रहेको उहाँले बताउनुभयो ।

यसैगरी सतगुरु माता सुदीक्षा जी महाराजको प्रवचनमा पनि बाहिरी रूपमा सत्संगमा उपस्थित हुनु मात्र भक्ति नभई गुरुका वचनलाई हृदयमा धारण गरेर व्यवहारमा उतार्नु आवश्यक रहेको सन्देश दिइएको थियो । मनमा दूषित भावना राखेर शरीर मात्र सत्संगमा उपस्थित गराउनुको कुनै सार्थकता नहुने उल्लेख गर्दै तन, मन र धनलाई परमात्माको अमानत सम्झेर सद्गुरुको शिक्षा र हुकुमअनुसार जीवन बिताउन प्रेरित गरिएको थियो ।

भक्त प्रह्लादको प्रसंग प्रस्तुत गर्दै प्रतिकूल परिस्थितिमा समेत परमात्माप्रतिको विश्वास र समर्पण कायम राख्नु नै सच्चा भक्तिको पहिचान भएको बताइएको थियो । खराब संगतले मानिसलाई आध्यात्मिक मार्गबाट विचलित गराउने भएकाले सन्तहरूको सान्निध्यमा रहेर प्रेम, नम्रता र समर्पणको भावना विकास गर्न आग्रह गरिएको थियो ।

प्रवचनमा सेवा, सिमरण र सत्संगलाई जीवनको अभिन्न अंग बनाउँदै कसैप्रति वैर, घृणा, ईर्ष्या र द्वेष नराखी सबैलाई समान प्रेम गर्नुपर्नेमा जोड दिइएको थियो । सतगुरुको सहारा र सन्तहरूको संगतबाट आत्मिक जागृति प्राप्त गरी ज्ञानलाई व्यवहारमा जिउन सके जीवनमा सुख, शान्ति र परमानन्द प्राप्त हुने सन्देश दिइएको थियो ।

सडकपुरमा आयोजित सत्संग कार्यक्रमको सुरुवात लक्ष्मी एवं साथीहरूले हरदेव वाणी गायनबाट गर्नुभएको थियो । कार्यक्रममा यशोदा एवं साथीहरूले भजन, गगन सिंह ऐरले आध्यात्मिक विचार, कमला एवं साथीहरूले भक्तिगीत, धर्मराज भण्डारीले विचार तथा राधिका एवं साथीहरूले भक्तिगीत प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, भूपेन्द्र रेग्मी र भद्रसरी रेग्मीले आध्यात्मिक विचार, लोटन एवं साथीहरू र आरती एवं साथीहरूले भक्तिगीत प्रस्तुत गर्नुभएको थियो । स्मृति रिमालले अंग्रेजी भाषामा विचार राख्नुभएको थियो भने प्रसन्न एवं साथीहरूले भक्ति रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सडकपुर बौनियाका मुखी विजय सिंह कुँवरले आध्यात्मिक विचार राख्नुभएको थियो । रचना साउद र टेकराज खड्काले कविता वाचन गर्नुभएको थियो भने लालबहादुरले भक्तिगीत प्रस्तुत गर्नुभएको थियो । अमरावतीबाट आउनुभएका धनञ्जय एवं साथीहरूले भक्ति रचना, प्रकाशमान ठकुल्लाले आध्यात्मिक विचार तथा सिद्ध जयगढी एवं साथीहरूले भक्ति रचना प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, शिशिर शर्माले विचार, योजना रेग्मीले मंगलाचरण तथा बाटली एवं साथीहरूले भजन प्रस्तुत गर्नुभएको थियो । पुरातन महात्मा एवं ज्ञान प्रचारक नवल सिंह बोहराले आध्यात्मिक विचार राख्नुभएको थियो भने कल्पना एवं साथीहरूले भक्तिगीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यतिर दिल्लीबाट आउनुभएकी महात्मा रानी बोहराले आध्यात्मिक विचार तथा भजनमार्फत आफ्ना भाव व्यक्त गर्नुभएको थियो भने माया खड्काले कार्यक्रमको संचालन गर्नुभएको थियो ।


You must be logged in to post a comment.