आस्था /आध्यात्म

मानव जीवनको उद्देश्य परमात्मालाई चिन्नु र प्राप्त गर्नु हो : बिनोद वोहरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, ९ मंसिर । मानव जीवन ८४ लाख योनिमध्ये दुर्लभ र अमूल्य अवसर भएकाले यसको सदुपयोग गर्दै परमात्मालाई चिन्नुपर्नेमा सन्त निरंकारी मण्डल, दिल्ली मुख्यालयबाट नेपाल आउनुभएका ज्ञान प्रचारक महात्मा बिनोद वोहराले जोड दिनुभएको छ ।

लोक कल्याणकारी विज्ञापन

सन्त निरंकारी मिशनको आध्यात्मिक प्रचार यात्राका क्रममा नेपालका विभिन्न स्थानका सत्संग भवनहरूको भ्रमण गर्दै धनगढी पुग्नुभएका वोहराले आयोजित विशाल सत्संगलाई सम्बोधन गर्दै भक्ति कुनै देखावा, बाहिरी पहिरन वा कर्मकाण्ड नभई भक्त र परमात्मालाई जोड्ने माध्यम भएको बताउनुभयो । सतगुरु माता सुदीक्षा सविन्दर हरदेव जी महाराजको कृपाले नोभेम्बर १३ मा काठमाडौं आइपुग्नुभएका उहाँले करिब १२–१३ दिनको नेपाल भ्रमणका क्रममा विभिन्न स्थानमा सत्संग गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो ।

मानव जीवनको क्षणभंगुरता उल्लेख गर्दै उहाँले पाकेर रूखबाट खसेको फल पुनः हाँगामा जोडिन नसक्ने उदाहरण प्रस्तुत गर्नुभयो । त्यसैगरी मानव जीवन पनि एकपटक प्राप्त हुने दुर्लभ अवसर भएकाले यसलाई व्यर्थका काममा खर्च नगरी परमात्माको पहिचान र प्राप्तिका लागि उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । अनेकौ योनिमा जन्म लिएपछि प्राप्त भएको मानव शरीर परमात्मासँग मिलन गर्ने अवसर भएको उल्लेख गर्दै उहाँले मानिसलाई निद्रा, भोजन, भोग र भयमा मात्र सीमित नभई आत्माको वास्तविक स्वरूप पहिचान गर्न आग्रह गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापन
AD

उहाँले दृष्टिविहीन व्यक्तिले पर्खाल समातेर बाहिर निस्कने प्रयास गरेको उदाहरण दिँदै मानव जीवनमा पनि परमात्माले मुक्ति प्राप्त गर्ने अवसर दिनुभएको तर मानिस सांसारिक मोह र मायामा अल्झिएर त्यो अवसर गुमाइरहेको बताउनुभयो । शिक्षा, पद, प्रतिष्ठा, व्यापार र पारिवारिक जिम्मेवारीमै अल्झिँदा जीवनको वास्तविक उद्देश्य बिर्सने गरेको उहाँको भनाइ थियो । मानव जीवनको मुख्य उद्देश्य ब्रह्मज्ञान प्राप्त गरी आत्मा र परमात्माबीचको सम्बन्ध बुझ्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सतगुरु बाबा हरदेव सिंह जी महाराजको वाणी उद्धृत गर्दै उहाँले ज्ञानलाई व्यवहारमा उतार्ने र विकाररूपी विष त्यागेर निरंकार नामको अमृत पिउनेले मात्र मुक्ति प्राप्त गर्न सक्ने बताउनुभयो । भगवान् श्रीकृष्णले अर्जुनलाई निराकार परमात्माको ज्ञान प्राप्त गर्ने मार्ग बताउनुभएको प्रसंग उल्लेख गर्दै ब्रह्मज्ञानी भक्तको शरणमा गएर परमात्माको अनुभूति प्राप्त गर्न सकिने उहाँको भनाइ थियो । सतगुरुको कृपाबाट प्राप्त ब्रह्मज्ञानले आत्मालाई परमात्मासँग जोड्दै जन्म–मरणको चक्रबाट मुक्ति दिलाउने उहाँले बताउनुभयो ।

परमात्माको पहिचानबिना गरिने पूजा, पाठ र कर्मकाण्ड निष्फल हुने उल्लेख गर्दै उहाँले बाबा हरदेव सिंह जी महाराजको भनाइ, “ईश्वरको ज्ञानबिना गरिने पूजा हानिकारक हुन्छ” उद्धृत गर्नुभयो । परमात्मालाई नचिनी गरिने भक्ति वास्तविक भक्तिको मार्ग बन्न नसक्ने बताउँदै उहाँले पहिले परमात्माको ज्ञान प्राप्त गर्न र त्यसपछि भक्तिलाई जीवनमा आत्मसात् गर्न आग्रह गर्नुभयो । गुरुवाणीमा उल्लेख भएझैँ तीर्थ, व्रत, पुण्य, दान तथा अन्य धार्मिक कर्ममा अभिमान राखे ती सबै हात्तीको स्नानझैँ निष्फल हुने उहाँले उदाहरण दिनुभयो ।

वोहराले सत्संग, सेवा र सिमरणलाई भक्तिका प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै ज्ञान प्राप्त गरेपछि यी तीन अभ्यासलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्ने बताउनुभयो । जसरी मानिसले दैनिक खाना खान्छ र आफ्नो जिम्मेवारी पूरा गर्छ, त्यसरी नै आध्यात्मिक जीवनका यी आधारलाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । हप्तामा एकपटक मात्र सत्संग गरेर नभई नियमित सत्संग, सेवा र सिमरणमा लागेमा जीवन भक्तिमय बन्ने उहाँले बताउनुभयो ।

सत्संगले परमात्माको चर्चा, कृतज्ञता र बन्दगी गर्ने अवसर प्रदान गर्ने तथा निरन्तर सत्संगमा जोडिनाले मानिसमा सही र गलत छुट्याउने विवेक जागृत हुने उहाँले उल्लेख गर्नुभयो । विवेक जागृत भएपछि मन भक्तितर्फ आकर्षित हुने बताउँदै उहाँले सेवाले मानिसभित्र रहेको घमण्ड र अभिमान हटाएर नम्रता तथा विनम्रताको भावना विकास गर्ने स्पष्ट पार्नुभयो । भवनमा कुचो लगाउने, शौचालय सफा गर्ने तथा जुत्ता–चप्पल व्यवस्थापन गर्ने जस्ता सामान्य सेवाले समेत अहंकार हटाउन सहयोग गर्ने उहाँको भनाइ थियो । अभिमान हटेपछि भक्ति अझ बलियो हुने उहाँले बताउनुभयो ।

त्यस्तै, सिमरणले भक्तिलाई उचाइ प्रदान गर्ने उल्लेख गर्दै निरंकारको ज्ञानलाई स्मरण गरी सद्गुरुको शरणमा रहन आग्रह गर्नुभयो । अहंकाररहित मन हलुका भएर शान्ति र आनन्द प्राप्त गर्ने उहाँले बेलुनको उदाहरणबाट प्रस्ट पार्नुभयो । बेलुनमा हलुका हिलियम ग्यास भरेपछि त्यो माथि उठेजस्तै मनबाट अभिमान हटेपछि भक्ति पनि उचाइमा पुग्ने उहाँको भनाइ थियो ।

मानिसलाई वास्तविक मानव बन्न बाहिरी स्वरूप मात्र पर्याप्त नहुने बताउँदै उहाँले दया, करुणा, सहनशीलता, प्रेम, नम्रता, विशालता र विवेकजस्ता मानवीय गुण व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । रूहको रबसँग मिलन भएपछि मात्र मानिसमा वास्तविक मानवताका गुण विकास हुने उहाँले बताउनुभयो । सद्गुरुको शरणमा आएर ब्रह्मज्ञान प्राप्त गरेपछि आत्मालाई परमात्मासँग एकाकार गराउने मार्ग खुल्ने उल्लेख गर्दै उहाँले ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त नभई त्यसलाई व्यवहारमा उतार्दै जीवनभर भक्ति कायम राख्नुपर्ने बताउनुभयो ।

सत्संगमा सहभागी भएर ईश्वरीय वाणी श्रवण गर्नुका साथै त्यसलाई मनन गरी व्यवहारमा उतार्न सके जीवन भक्तिमय बन्ने उहाँको भनाइ थियो । सत्संग, सेवा र सिमरणमार्फत ब्रह्मज्ञानको अभ्यास गर्दा मानिस आफ्नो मूल स्वरूपसँग जोडिने र आत्माले नित्य आनन्द प्राप्त गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अर्जुन गहतराज, रोशन वड, प्रकाशबहादुर साउद, मोहन भुल, बिपना एवं साथी, दीपक सिंह, करण सिंह, गौरव बिक, सरस्वती बिक एवं साथी, जयबहादुर खड्का, प्रेम सोनी, धनबहादुर रोकाया, रोशन साउद, नरबहादुर बिक, रूपा, माया बोहरा र नितेशले भजन तथा प्रवचनमार्फत आ–आफ्ना आध्यात्मिक भाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको मङ्गलाचरण धुनि अर्जुन बिकले गाउनुभएको थियो ।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, सहसचिव नरबहादुर बिक, अछाम जिल्ला इन्चार्ज जयबहादुर साउद, धनगढी सत्संग भवनका मुखी प्रकाशबहादुर साउद, अतरिया भवनका मुखी दीपक सिंह तथा सेवादल सञ्चालक करण सिंह वड लगायत विभिन्न स्थानका महात्मा तथा भक्तहरूको सहभागिता रहेको थियो । टीकापुरबाट तेजबहादुर बोहरालगायत भक्तहरू पनि कार्यक्रममा सहभागी भएका थिए ।

कविराज रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूका लागि प्रसादीको समेत व्यवस्था गरिएको थियो । यसैबीच, बिहीबार कञ्चनपुरको पुनर्वासमा सत्संग आयोजना हुने जनाइएको छ । आयोजकले आध्यात्मिक आस्थावान् सन्त, भक्त तथा शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ ।

बिज्ञापन