आज महानवमी पर्व, शक्तिपीठहरुमा नवदुर्गाको विशेष पूजा गरिँदै

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकै दिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन असोज १८ गते शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवी र तेस्रो दिन गत शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्ड देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । सोमबार पनि चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्ड देवीकै पूजा आराधना गरिएको समितिले जनाएको छ ।
यस्तै, छैटौँ दिन मङ्गलबार स्कन्दमाता, सातौँ दिन बुधबार कात्यायनी देवी, आठौँ दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो । दुर्गा पक्षको आठौँ दिन आश्विन शुक्ल अष्टमीमा आज महागौरी र नवमी तिथि पनि परेकाले सिद्धिदात्री देवीको पनि विशेष पूजा आराधना गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।
नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यस वर्ष असोज २६ गते शनिबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः३६ को साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउने गर्छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
