वीरगन्ज महानगर क्षेत्रमा फैलियो हैजा, चार वडाका ४१ जनामा संक्रमण पुष्टि

वीरगन्ज महानगरपालिकाको केही वडामा हैजा (कोलेरा) फैलिएपछि विभिन्न अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ बाट हैजा (कोलेरा)का बिरामी अस्पतालमा भर्ना भएका हुन् । शनिबार साँझसम्म वीरगन्ज महानगरको चार वडाका ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
वीरगन्जको नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुईजना हैजाका बिरामी उपचाररत रहेको ठाकुरले बताए । उनका अनुसार महानगरको विभिन्न वडामा हैजा समुदायस्तरमै फैलिएकाले बिरामीको संख्या बढ्दो छ ।

वीरगन्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी उपचाररत रहेको उनले बताए । नारायणी अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शय्याको अभावमा बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । उनका अनुसार नारायणी अस्पतालमा शनिबार साँझसम्म एकजना बिरामीमा हैजाको पुष्टि भएको छ । अस्पतालमा हाल झाडापखाला र हैजा पुष्टि भइसकेका गरी ३० जना बढीको उपचार चलिरहेको र बिरामीको संख्या थपिने क्रम अझै जारी रहेको उनले बताए ।
खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जका विभिन्न अस्पताल पुगेर हैजाका बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन् । उनले नारायणी अस्पताल, तराई हस्पिटल, वीरगन्ज हेल्थ केयरलगायतका विभिन्न अस्पतालमा उपचाररत हैजाका बिरामीहरूको अवस्था बुझेका हुन् । खानेपानीको स्रोत, सरसफाइ तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाबारे प्रत्यक्ष रूपमा जानकारी लिएको मन्त्री यादवले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
