आस्था /आध्यात्म

भिमापुरको पुरैनामा नव निर्मित निरंकारी सत्संग भवनको उद्घघाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिया,, १९ मङ्सिर । भिमापुरको पुरैनामा नव निर्मित निरंकारी सत्संग भवनको उद्घघाटन गरिएको छ ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलद्वारा उक्त भवनको उद्घघाटन गरिएको थियो । सो अवसरमा उहाँले भन्नुभयो कि सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो । यो धर्म, सम्प्रदाय भन्दामाथि रहेको छ, सर्वधर्म समभाव मिशनको सन्देश रहेको छ । धर्मले जोड्छ तोड्दैन, धर्म होइन भावना परिवर्तन गरौं । सोच परिवर्तन हुनु आवश्यक छ । सोच परिवर्तन गर्नको लागि एउटै उपाय छ– ब्रम्हको प्राप्ति, भ्रमको समाप्ति । ईश्वर परमात्माले चन्द्र बरायो, तारा बनायो, पृथ्वी, जलतल, पशुपंछी अनि नरनारी बनायो । तिमीले सबको पालना गर्छौ, परमेश्वर हो तिम्रो नाम । यिनीहरु ग्रह–उपग्रह हुन् र साथै परिवर्तन भइराख्छन् । परिवर्तन नहुने भनेको केवल यो निराकार परमात्मा मात्र हो । यो अलख निरञ्जन निराकार हो । यसलाई न पानीले भिजाउन सक्छ न आगोले जलाउन सक्छ न हावाले उडाउन सक्छ अथवा कुनै पनि प्रकारले यसको नाश हुँदैन । यो कुनै पनि आकारको नभएको कारण यसलाई केवल सत्गुरुको कृपाबाट मात्र दर्शन गर्न सकिन्छ । यसको जानकारी केवल सत्गुरुको चरणमा मात्र पाइन्छ । ईश्वर कणकणमा व्याप्त छ । संसारमा हरेक वस्तु परिवर्तनशील छन् । यी सबै निराकारबाट निर्मित छन् । सूर्य चन्द्र तारा पनि परिवर्तनशील छन् । अहिले छन् पछि छैनन्, यिनीहरुको एक न एक दिन प्रलय अवश्य हुनेछ । विनाश नहुने केवल यो निराकार परमात्मा मात्र छ । संसारमा परमात्मा केवल एक छ । सबै धर्मले ईश्वरलाई एक भनेका छन् । कसैले पनि दुई भनेका छैनन् । यसरी निराकार एक छ अटल छ अमर छ अविनाशी छ । सत्गुरु कृपाबाट मात्र यस निराकारलाई प्राप्त गर्न सकिन्छ, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो कि मानवको जीवन अमूल्य रहेको छ र यो बाम्बार पाइँदैन । यदि यसलाई खानपिनमा मात्रै सीमित राख्यौं भने मानव जीवन पाएको व्यर्थ हुन जाने छ । आत्माको मुक्तिको लागि परमात्माले हामीलाई मानव योनि दिएको छ । यसलाई त्यत्तिकै खानपिनमा मात्र नगुमाउँ । धनसम्पत्ति, पुत्र–परिवारमा मात्र यो अमूल्य जीवनलाई गुमाउनु हुँदैन । मानव मुक्तिको लागि सत््गुरुको शरणमा जानु नितान्त आवश्यक छ । निरंकारी मिशनमा सत्गुरु माता सुदीक्षा जी महाराजले सबै जातजाति, संस्कृति, रहन–सहन भएका व्यक्तिहरुलाई एउटै सूत्रमा बाँधेर यस निराकार परमात्माको दर्शन गराइराख्नुभएको छ । संसारलाई विश्व बन्धुत्वको सन्देश दिइराख्नुभएको छ । सबै मानव परिवारलाई एकताको सुत्रमा बाँधि राख्नुभएको छ । आज संसारमा मानवले आफ्नै अशंमा भएको ईश्वरलाई विभिन्न ठाउँमा खोजिरहेको छ, जुन प्रकार मृगले आफ्नो नाभीमा भएको कस्तुरीलाई वन–वनमा खोजिरहेको हुन्छ । त्यस्तै प्रकारले मानवले पनि आफ्नै अंशमा भएको ईश्वरलाई संसारका विभिन्न ठाउँमा गएर अनेक प्रकारका अवस्थाहरुलाई अपनाएर मानव योनि व्यर्थमा गुमाइरहेको छ । संसारमा मानवले परमात्माको नाम त लिइरहेको छ तर यसलाई जानेको भने छैन । संसारमा दुई प्रकारका मानहरु रहेको पाईन्छ– एउटा नास्तिक र अर्को आस्तिक । आस्तिकले परमात्मालाई मान्ने गर्दछ । त्यसले ईश्वरको पूजा गर्छ भने नास्तिकले परमात्मालाई मान्दैन फरक यति मात्र छ नास्तिक र आस्तिकमा । आस्तिकले परमात्मालाई मान्छ तर उसले यसलाई जानेको छैन । परमात्मालाई नजानेको नास्तिक नै भइहाल्यो । आस्तिकले मानेर पनि जानेको छैन । जानेर पनि कुनै सार्थक छैन किनभने जानेर पनि कसलाई मान्ने ? ईश्वरलाई जान्नको लागि सत्गुरुबाट ब्रम्हज्ञान लिनु आवश्यक छ । जसबाट हामी निराकार परमात्माको दर्शन गर्न सक्छौ । निराकारमा हामी छौं हामीमा निराकार छ । तर यसलाई हामीले जानेका छैनौँ । जस्तो सागरमा गागर रहेको छ । बाहिर भित्र निराकार छ । यसको जानकारीको लागि सत्गुरुको आवश्यकता पर्दछ । यसरी यो निराकार परमात्मालाई सत्गुरुको कृपाबाट मात्र जान्न सकिन्छ, उहाँले बताउनुभयो ।

आत्मालाई जन्म मरणको फेरोबाट छुटाउनको लागि सेवा, सिमरण, सत्संगको आवश्यकता पर्दछ । मानव एक्लै जन्मियो, एक्लै जाने हो । हामीसँग कोही आफ्ना इष्टमित्र, साथीसँगी, परिवार जाने होइनन् । जाने हो त केवल हामीले गरेको कर्ममात्र । जस्तो हामी कर्म गर्ने छौँ, त्यस्तै फल प्राप्त गर्ने छौं । आज सत्गुरुको कृपाले यी सन्तहरुको दर्शन प्राप्त भएको छ । सेवा, सत्संग, सिमिरण प्राप्त भएको छ, जसले हाम्रो कर्मलाई सबल बनाउने गर्दछन् । यस निराकार परमात्मालाई जान्न सकिन्छ । भगवान श्रीकृष्णले अर्जुनलाई जानकारी गराउनुभयो, त्यस्तै माता पार्वतीलाई भगवान शंकरले जानकारी गराउनुभयो । भगवान श्रीकृष्णले सन्दीपिनीबाट, भगवान रामले वशिष्ठबाट यो ज्ञानलाई प्राप्त गर्नुभयो । त्यही ज्ञान सत्गुरु माता जीले हामीलाई प्रदान गर्नुभएको छ । परमात्माका विभिन्न रुपहरु रहेका छन्, यसलाई जान्नु आवश्यक छ । स्थाई घर भनेको केवल यो निराकार परमात्मा मात्र हो । संसारमा रहेका जतिपनि भौतिक चीजहरु छन्, ती सबै क्षणिक रहेका छन्, उहाँले बताउनुभयो ।

उहाँले आफू स्टेजमा बसेर पनि गुरु नभएको कुरालाई प्रष्ट पार्दै भन्नुभयो कि यहाँ कोही गुरु छैन, हाम्रो गुरु भनेको केवल सत्गुरु माता सुदीक्षा जी महाराज मात्र हुनुहुन्छ । यहाँ हामी सबै बराबर स्तरमा छौ । म कुर्सीमा बसेर पनि गुरु होइन, हामी सबै सर्वसाधारण नै हौँ । केवल सत्गुरुको प्रतिनिधिको रुपमा यस कुर्सीमा दास बसेको छ । संसारमा यदि हेर्छौ भने कोही पनि गुरुले आफ्नो स्थान दिएको पाउँदैनौं । केवल निरंकारी मिशनमा मात्र हामीलाई सत्गुरु माता जीले आफ्नो प्रतिनिधिको रुपमा आफ्नो आसनको रुपमा स्टेज दिएको हामी पाउँछौं । सन्त र ममा केही फरक छैन यही नै निरंकारी मिशनको सिद्धान्त हो । अतः यस्तो सत्गुरु ठूलो भाग्यले मात्र पाइन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

उक्त अवसरमा राजपुर नगरपालिका ८ का वडा अध्यक्ष राजेश चौधरीले आफुलाई आज यो कार्यक्रममा आउँदा गर्वको अनुभूती भइरहेको छ, किनभने आज विश्वमा मानिसले मानिसको भूणलाई समेत आफ्नो आहारा बनाई रहेको अवस्थामा निरंकारी मिशनले विश्व बन्धुत्वको माध्यमबाट समानताको पाठ सिकाई रहेको छ, यस मिशनले जातिभातिको पराकाष्ठालाई अन्त्य गर्दै भाइचारालाई उजगार गरिरहेको पाउँदा आफूलाई हर्ष विभोर भएको महसुश भइरहेको छ । निराकार परब्रम्हले नै हामी सबैलाई चलाई रहेको र हामीलाई कर्म गराई रहेको अवस्थामा स्थानीय जनताहरुले दिएको जिम्मेवारी वडा अध्यक्षको हैसियमा रहेर वडाबाट यो सत्संग भवन, ट्वाइलेट, माटो फिलिङ्गका लागि आवश्यक रकमको बिनियोजित गरेर यहाँसम्म पु¥याइएको र आगामी दिनमा पनि वडाबाट यस भवनका लागि वरिपरिको पर्खाल र अन्य आवश्यक कार्यको लागि रकम बिनियोजित गर्ने कुराको प्रतिवद्धता जाहेर व्यक्त गर्नुभयो ।

त्यसै समाजसेवी शिवप्रसाद कोइरालाले यस सत्संग कार्यक्रमलाई प्रत्यक्ष रुपमा देख्न पाउँदा र यहाँको व्यवस्थापन तथा भावनालाई महसुस गर्दा आफ्नो जीवनलाई सदाको लागि सत्संगमा सपर्ण गरिदिउँ कि भन्ने लागेर आएको बताए । उनले भने सन्त निरंकारी मिशनले खुला प्रचार–प्रसारको माध्यमबाट आम समाजमा यसको वास्तविकतालाई उजागर गर्न सक्ने हो भने समाजमा हुने गरेको विकृति र बिसंगतिलाई निरुत्साहित गरेर सभ्य समाजको स्थापना गर्न सकिने, उहाँले बताउनुभयो ।

उक्त भवनका मुखी लोकराज जैशीले भवनको निर्माण सम्पन्नतामा हालसम्म १० लाख रुपैयाँ खर्च भइसकेको जसमा ३ लाख ५० हजार राजापुर नगरपालीका वडा नं ८ बाट प्राप्त भएको थियो भने सन्त निरंकारी मण्डल नेपालबाट ३ लाख र स्थानीय सन्तहरुबाट ३ लाख ५० हजार गरि १० लाख उपलब्धता भएको थियो ।
जैशीले भने यो भवनको घेरबार र माटो फिलिङका लागि अझै लाखौं रुपैयाँको आवश्यक भएकाले सहयोगी दाताहरुको खोजी भइरहेको छ । आगामी दिनहरुमा ती सहयोगी मनहरुलाई खोजिगरी बाँकी रहेको कार्य समेत सम्पन्न गर्ने लक्ष्य लिएको कुरा जानकारी गराएका थिए ।

सत्संग कार्यक्रममा बर्दिया र कैलालीका विभिन्न ठाउँबाट आएका करिब संयौ सन्त–भक्तहरुको उपस्थिति रहेको थियो, जसमा टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारी, सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, सेवादल सञ्चालक बलबहादुर सार्की, धनञ्जय, तेज बोहरा, लाल सिंह, मोहन सिंह, इन्द्र सिंह, लाल रावल, नैन सिंह, राजन रेग्मी, गंगा, चम्फा, ललीता, लक्ष्मी, मनु, राधा लगाएतका स्थानीय सन्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सेवादल जवान प्रकाशमान ठकुल्लाले गर्नु भएको थियो ।

स्मरण रहोस कि उक्त भवनको जग्गा पुरातन कर्मयोगी सन्त कालु सिंहले दान गर्नुभएको थियो । उहाँको स्थानीय सन्तहरुलाई प्रेरित गरेर यस निरंकारसँग जोड्नुमा निकै ठुलो सहयोग रहेको छ । वर्षौदेखि सन्तहरु एक खर र टीनको छाना मुनि सत्संग गर्दै आएका थिए । अहिले पक्कि भवनको निर्माण भएकोमा त्यहाँका सन्तहरु निकै उत्साहित भएको उनीहरुको उनीहरुको अनुहारबाट प्रष्ट झल्कि रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।