आस्था /आध्यात्म

मानव एकता दिवसको अवसरमा सत्संग कार्यक्रम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १३ वैशाख । मानव एकता दिवसको अवसरमा सत्संग कार्यक्रमको आयोजना गरिएको छ ।

सन्त निरंकारी सत्संग भवन टीकापुरमा आयोजित कार्यक्रममा उपस्थित सन्तहरुलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सत्गुरु बाबा हरदेव सिंह महाराजको दिव्य सन्देश ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ भन्ने मूल सन्देशलाई आत्मसात गर्दै २४ अपे्रलका दिन विश्वका विभिन्न देशमा रक्तदान शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार दिल्लीको बुरारी रोडमा आयोजित रक्तदान शिविरमा ४० हजार पिन्ट रगत संकलन गरिएको थियो ।

बिज्ञापन

उहाँले नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा मानिसहरु रगत नपाएर पीडित भइरहेको अवस्था रहेको बताउँदै सन्त निरंकारी मिशनले रगतको अभाव केही हदसम्म पूर्ति गर्दै आएको जानकारी दिनुभयो ।

सन्त निरंकारी मिशनलाई अगाडि बढाउन बाबा गुरबचन सिंह जी महाराजको त्याग, बलिदान र समर्पणको वर्णन गर्दै उहाँले भन्नुभयो कि सन् १९६२ मा सत्गुरुका रूपमा अवतरित भएपछि उहाँले मिशनलाई देश–विदेशमा विस्तार गर्न निरन्तर प्रयास गर्नुभयो। भोक–प्यास, निद्रा–भोजन, यश–आराम आदिलाई त्यागेर दिनरात मिशनको सेवामा लागिरहनुभयो । जसका कारण मिशन भारतमा मात्र नभई विश्वका धेरै देशहरुमा फैलियो ।

त्यतिबेला सवारी साधन पर्याप्त मात्रामा उपलब्ध थिएनन् र मानिसहरु आर्थिक संकटमा थिए । उहाँले मिशनमा रहेका पेट्रोल गाडीहरुलाई डिजेल गाडीमा रुपान्तरण गरी आर्थिक भार कम गर्नुभयो । साथै भारतमा खाद्य संकट चलिरहेका बेला निरंकारी कालोनी नजिकको बाँझो जमिनलाई कृषि योग्य भूमिमा परिणत गरी खेतीयोग्य बनाइएको थियो, जसबाट मिशनलाई ठूलो राहत मिलेको थियो ।

उहाँले अगाडि भन्नुभयो कि सन् १९७३ मा मसुरी कन्फ्रेन्स आयोजना गरी भारतभरिका मिशनका प्रबन्धकहरुलाई बोलाएर अबदेखि मिशनमा पूर्ण रुपमा नशाबन्दी गर्ने, विवाह गर्दा सादा विवाह गर्ने, कुनै प्रकारको दाइजो नलिने, नारीलाई पुरुषसरह दर्जा दिने तथा युवाहरुलाई अगाडि बढाउन प्रेरित गर्ने निर्णयहरु गरिएका थिए ।

उहाँका अनुसार बाबा गुरबचन सिंह जीद्वारा जारी गरिएका निर्णयहरुको पालना गर्नेहरुको जीवन सुखी र प्रगतिशील बनेको छ भने अवज्ञा गर्नेहरुले कठिनाइ भोग्नुपरेको छ । सत्गुरुबाट आएका आदेशको पालना गरे जीवन सुखमय बन्न सक्ने उहाँले बताउनुभयो ।

सत्गुरु बाबा गुरबचन सिंह जी महाराजले मानव जातिको कल्याणका लागि गरेका कार्य केही विरोधी तत्वलाई मन परेको थिएन । उनीहरुले अमृतसर, कानपुर लगायत विभिन्न स्थानमा हत्या प्रयास गरे पनि उहाँ विचलित नभई आफ्नो कार्यमा निरन्तर लागिरहनुभयो । अन्ततः अहंकारको भूमरीमा डुबेकाहरुले २४ अप्रिल १९८० मा उहाँको हत्या गरेका थिए ।

बाबा जीलाई श्रद्धाञ्जलि दिन विभिन्न ठाउँबाट आएका सन्त–महापुरुषहरुले सत्गुरु स्वरुपमा अवतरित बाबा हरदेव सिंह जी समक्ष खूनको बदला खून लिने भावना व्यक्त गरेका थिए । तर बाबा हरदेव सिंह जीले ‘रगतलाई नालीमा होइन, नाडीमा बगाएर बदला लिने’ सन्देश दिनुभयो । त्यसपछि सन्त निरंकारी मिशनले २४ अप्रिल १९८६ देखि मानव एकता दिवसका अवसरमा रक्तदान शिविर आयोजना गर्दै आएको छ । हालसम्म मिशनले १५ लाखभन्दा बढी पिन्ट रगत संकलन गरिसकेको अध्यक्ष रावलले जानकारी दिनुभयो ।

सत्संग कार्यक्रममा स्थानीय सन्त–भक्तहरुले मानव एकता दिवस सम्बन्धी विभिन्न विचार, भक्ति गीत तथा कविता वाचन गरी उपस्थित सन्तहरुलाई आनन्दित बनाएका थिए भने कार्यक्रमको सञ्चालन दीपक रावलले गर्नुभएको थियो । आएका सबै सन्त–भक्तहरुका लागि भोजन (लंगर) को व्यवस्था काठमाडौंबाट आउनुभएकी सन्त भावना कडायतले गर्नुभएको जानकारी टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारीले दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।