ज्ञान र कर्मको समन्वयले मात्रै जीवन सफल : नर बहादुर रावल

धनगढी, ९ साउन। सन्त निरंकारी सत्संग भवन, धनगढीमा शनिबार आध्यात्मिक सत्संग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा ठूलो संख्यामा साध-संगतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मानव जीवनलाई सुख, शान्ति, सद्भाव र आध्यात्मिक उन्नतिको मार्गमा अघि बढाउन सद्गुरुको शिक्षालाई आत्मसात् गरी व्यवहारमा उतार्नु अपरिहार्य रहेको बताउनुभयो। उहाँले सद्गुरुले देखाएको मार्गमा इमानदारीपूर्वक हिड्न सके मात्र जीवनले सही दिशा प्राप्त गर्ने उल्लेख गर्दै परमात्माको वास्तविक स्वरूपलाई अनुभूति गर्नु नै मानव जीवनको सर्वोच्च उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो।


उहाँले सद्गुरुको इशारालाई सम्झेर परमात्मालाई जान्ने, त्यसलाई हृदयदेखि स्वीकार गर्ने र सम्पूर्ण मानवजातिलाई एउटै परिवारका रूपमा हेर्ने चेतनाको विकास गर्न सके मात्र साँचो अर्थमा लोक सुखी र परलोक सुहेला बन्न सक्ने बताउनुभयो। जात, धर्म, भाषा, क्षेत्र वा वर्गका आधारमा हुने विभेद र अहंकार त्यागेर प्रेम, समानता, सहिष्णुता र विश्वबन्धुत्वको भावना आत्मसात् गर्न सके समाजमा स्थायी शान्ति र सद्भाव कायम हुने उहाँको भनाइ थियो। उहाँले आध्यात्मिक ज्ञानलाई केवल सुन्ने वा बुझ्ने विषयका रूपमा सीमित नराखी जीवनका हरेक कर्म र व्यवहारमा लागू गर्न सके व्यक्ति, परिवार र समाज सबै सकारात्मक परिवर्तनतर्फ अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले ज्ञान प्राप्त गर्नु मात्र जीवनको अन्तिम लक्ष्य नभई त्यसलाई व्यवहार, आचरण र कर्ममा उतार्नु नै वास्तविक आध्यात्मिक साधना भएको बताउनुभयो। केवल शास्त्र, प्रवचन वा सत्संगमार्फत ज्ञान सुन्नु र बुझ्नु पर्याप्त नहुने उल्लेख गर्दै उहाँले प्राप्त ज्ञानलाई दैनिक जीवनका प्रत्येक गतिविधिमा आत्मसात् गर्न सके मात्र त्यसको वास्तविक सार्थकता पुष्टि हुने धारणा राख्नुभयो। सत्य, प्रेम, दया, क्षमा, सहिष्णुता र सेवाभावजस्ता मानवीय गुणलाई जीवनशैलीको अभिन्न अंग बनाउन सके मात्र ज्ञानले सकारात्मक परिणाम दिने उहाँको भनाइ थियो।
अध्यक्ष रावलले सद्गुरुले प्रदान गर्नुभएको ब्रह्मज्ञानले मानिसलाई परमात्माको वास्तविक स्वरूपसँग परिचित गराउने मात्र नभई आफ्नो कर्तव्य, जिम्मेवारी र मानवताप्रतिको दायित्वसमेत बोध गराउने बताउनुभयो। उहाँले भन्नुभयो, “ज्ञानलाई व्यवहारमा उतार्न नसके त्यो केवल शब्दमा सीमित रहन्छ, तर त्यसलाई कर्ममा रूपान्तरण गर्न सकियो भने त्यसले व्यक्तिको सोच, दृष्टिकोण र सम्पूर्ण जीवनलाई परिवर्तन गरिदिन्छ।”

उहाँका अनुसार ज्ञानलाई कर्ममा रूपान्तरण गर्ने व्यक्तिले आफ्नो जीवनमा अहंकार, ईर्ष्या, द्वेष, घृणा र विभेदलाई त्याग्दै प्रेम, सद्भाव, समानता र विश्वबन्धुत्वको भावना विकास गर्न सक्षम हुन्छ। यस्ता व्यक्तिहरूले परिवार, समाज र राष्ट्रमा सकारात्मक ऊर्जा प्रवाह गर्दै शान्ति, सामाजिक सद्भाव र भाइचाराको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छन्। समाजमा बढ्दै गएको असहिष्णुता, हिंसा र विभाजनलाई अन्त्य गर्न आध्यात्मिक ज्ञानलाई व्यवहारमा लागू गर्नु आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले सद्गुरुको शिक्षाअनुसार निष्काम सेवा, विनम्रता, अनुशासन र मानव सेवाको भावनालाई जीवनको मूल आधार बनाउन आग्रह गर्दै यिनै मूल्य र मान्यताको अभ्यासबाट मात्रै लोक सुखी र परलोक सुहेला हुने विश्वास व्यक्त गर्नुभयो। परमात्माको अनुभूति प्राप्त गरी सम्पूर्ण मानवजातिलाई एउटै परिवारका रूपमा स्वीकार गर्न सके संसारमा स्थायी शान्ति, प्रेम र एकताको वातावरण स्थापना हुने उहाँले बताउनुभयो।
सत्संगका क्रममा वक्ताहरूले आध्यात्मिक ज्ञानले मानिसलाई अहंकार, विभेद र भ्रमबाट मुक्त गराउँदै परमात्मासँगको सम्बन्धलाई अनुभूति गराउने विचार व्यक्त गरेका थिए। कार्यक्रममा टिका प्रसाद तिवारी, बलबहादुर साउद, झंकरबहादुर रावल, जंगबहादुर बुढाथापा, झंकरबहादुर बिष्ट, धनगढी सत्संंग भवनका मुखी प्रकाश बहादुर साउँद लगायतले पनि आफ्नो धारणा राख्दै निरंकारी सन्देशले मानव जीवनमा प्रेम, समानता, सहिष्णुता र विश्वबन्धुत्वको भावना अभिवृद्धि गर्ने बताए।
वक्ताहरूले सन्त निरंकारी मिशनको मूल सन्देशलाई आत्मसात् गर्दै हिन्दी भाव “खुदा में खुद है, खुद में खुदा है, खेल है भ्रम का जो हमसे जुदा है” लाई उद्धृत गरेका थिए। उनीहरूले परमात्मा प्रत्येक जीवभित्र विद्यमान रहेको अनुभूति गर्न सके भ्रम, द्वेष र विभेद स्वतः अन्त्य हुने तथा त्यही अवस्थाबाट लोक सुखी र परलोक सुहेला बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमभर भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा ज्ञानमय भावहरूको प्रस्तुति गरिएको थियो। सहभागी साध-संगतले सत्संगबाट आध्यात्मिक ऊर्जा, सकारात्मक सोच तथा मानवीय मूल्य र आदर्शलाई जीवनमा अवलम्बन गर्ने प्रेरणा प्राप्त भएको बताएका थिए। सत्संग सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.