चिकित्सकमाथिको आक्रमणको विरोधमा आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा थालेको आन्दोलनलाई निरन्तरता दिँदै बिहीबार पनि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि सरकारले प्रभावकारी कानुनी कारबाही नगरेको भन्दै सङ्घले आन्दोलन जारी राखेको हो।
सङ्घको केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो।
चिकित्सक सङ्घका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकिएको छ। साथै, न्यायको माग गर्दै पुगेका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोप लगाउँदै सङ्घले उक्त घटनालाई गम्भीर र निन्दनीय भनेको छ।
आन्दोलनअन्तर्गत आज बिहान १० बजे काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। त्यस्तै, उपत्यकाबाहिरका चिकित्सकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामै धर्ना दिएर विरोध जनाउने कार्यक्रम तय गरिएको सङ्घले जनाएको छ।
चिकित्सक सङ्घले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग पुनः माग गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
