दुई वर्षपछि भेरी अस्पतालमा सीटी स्क्यान सेवा पुनः सञ्चालन

नेपालगञ्ज, १९ साउन । नेपालगञ्जस्थित भेरी अस्पतालमा करिब दुई वर्षदेखि बन्द रहेको सीटी स्क्यान (CT Scan) सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
अस्पतालले सोमबार सूचना जारी गर्दै प्राविधिक कारणले अवरुद्ध रहेको सेवा पुनः सुचारु भएको जनाएको हो। अस्पतालका अनुसार अब विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार आवश्यक पर्ने सेवाग्राहीहरूले सीटी स्क्यान सेवा अस्पतालमै सहज, सुरक्षित र गुणस्तरीय रूपमा प्राप्त गर्न सक्नेछन्।
अस्पतालले सेवा पुनः सञ्चालनसँगै बिरामीहरूले अन्य अस्पताल वा निजी स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता कम हुने, समयमै रोगको पहिचान तथा उपचारमा सहजता आउने र उपचार खर्चसमेत घट्ने विश्वास व्यक्त गरेको छ।
भेरी अस्पतालले आफू उपचार गर्ने संस्था मात्र नभई जनविश्वासको केन्द्र भएको उल्लेख गर्दै प्रत्येक बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।
अस्पतालका अनुसार पछिल्ला दिनहरूमा सेवा विस्तार, सेवा व्यवस्थापन सुधार, आधुनिक स्वास्थ्य उपकरण सञ्चालन, विशेषज्ञ सेवा सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास भइरहेको छ।
सेवाग्राहीहरूको सुझाव, विश्वास र सहकार्यलाई आत्मसात गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र सुशासनयुक्त स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको अस्पतालले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
