टीकापुरसहित चार प्रादेशिक अस्पताल अब शिक्षण अस्पताल बन्ने

टीकापुर, २१ साउन । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका चार प्रादेशिक अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको यो निर्णयसँगै चिकित्सा शिक्षा तथा विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारका लागि नयाँ प्रक्रिया अघि बढेको छ।
सरकारको निर्णयअनुसार सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा अस्पताल, टीकापुर अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयसँग आबद्ध शिक्षण अस्पतालका रूपमा विकास गरिनेछ। यसबाट चिकित्सा शिक्षाका विद्यार्थीले प्रदेशमै अध्ययनसँगै व्यावहारिक तालिम लिने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले विश्वविद्यालयको शैक्षिक तथा प्राविधिक क्षमता विस्तारसँगै यी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा, अनुसन्धान र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार विकास गर्ने जनाएको छ।
शिक्षण अस्पताल सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशका नागरिकले विशेषज्ञ उपचार सेवा आफ्नै प्रदेशमा सहज रूपमा प्राप्त गर्ने, चिकित्सा शिक्षा अध्ययनका लागि अन्य प्रदेश धाउनुपर्ने बाध्यता कम हुने तथा स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।
प्रदेश सरकारका अनुसार विश्वविद्यालय र सम्बन्धित अस्पतालबीच आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै चिकित्सा शिक्षा विस्तारको काम चरणबद्ध रूपमा अघि बढाइनेछ। यो निर्णयलाई सुदूरपश्चिममा स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा दुवै क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
