टीकापुर

टीकापुरमा रास्वपाको टोल समिति गठन, डुबान र सडक समस्यामा स्थानीयको गुनासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३१ साउन । टीकापुर नगरपालिका–१ स्थित ब्लक नं. ३० को नमुनाबहुमुखी टोल विकास संस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोल विकास समिति गठन गरिएको छ।

आइतबार सिटी बसपार्कमा स्थानीय बासिन्दा तथा पार्टीका नेता–कार्यकर्ताको भेलाबाट ईशा साउदको संयोजकत्वमा नयाँ टोल विकास समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा निर्मला आले चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा सूर्जा देवी बि.क., पदमबहादुर थापा, शान्ताराम शर्मा, जक्तीराम उपाध्याय र ललितजंग विष्ट चयन भएका छन्।

टोल विकास समिति गठन कार्यक्रममा टीकापुर नगर सभापति इन्जिनियर रबिन्द्र विष्ट, उपसभापति नितेश रावल, टीकापुर नगरपालिका–१ का वडा सभापति चक्र बुढा, वडा सचिव गौरीकान्त जैशी तथा जिल्ला कमिटी सहसचिव गणेश विक्रम शाहलगायतको उपस्थिति रहेको थियो।

समिति गठनका क्रममा स्थानीय बासिन्दाले टोलको विकास र आधारभूत पूर्वाधारको अवस्थाबारे जनप्रतिनिधि तथा पार्टी नेतृत्वसमक्ष गुनासो राखेका थिए। टीकापुर बजारको मध्यभागमा रहे पनि ब्लक नं. ३० मा आवश्यक विकास पूर्वाधार निर्माणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो थियो।

स्थानीयका अनुसार टोलमा ढल तथा नाली निकासको उचित व्यवस्था छैन भने सडक तथा बाटोको अवस्था पनि कमजोर रहेको छ। पक्की तथा ग्राभेल सडक निर्माणको काम अपेक्षाकृत रूपमा अघि नबढ्दा स्थानीयवासीले वर्षायाममा थप समस्या भोग्नुपरेको बताएका छन्।

पछिल्ला दिनमा परेको वर्षाका कारण पानीको उचित निकास हुन नसक्दा टोलका विभिन्न घर तथा सडक क्षेत्रमा पानी जमेको स्थानीयले बताएका छन्। सडकमा पानी भरिएपछि पैदल आवतजावत गर्नसमेत कठिन भएको उनीहरूको भनाइ छ।

स्थानीयको गुनासो सुन्दै टीकापुर नगर सभापति इन्जिनियर रबिन्द्र विष्टले वर्तमान अवस्थामा स्थानीय तहमा विकासका काम अघि बढाउन विभिन्न चुनौती रहेको बताउनुभयो। उहाँले केन्द्रमा आफ्नो पार्टीको सरकार रहेकाले स्थानीय तहमा समेत आवश्यक समन्वय र सहयोगमार्फत विकासका कामलाई गति दिन सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले स्थानीयवासीले पार्टीलाई दिएको साथ र समर्थनका कारण आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारमा समेत पार्टीको नेतृत्व स्थापित भए विकासका थप अवसर खुल्ने दाबी गर्नुभयो। स्थानीय र प्रदेश सरकारमा समेत अनुकूल राजनीतिक वातावरण बने विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सहज हुने उहाँको भनाइ थियो।

स्थानीयवासीले भने राजनीतिक प्रतिबद्धतासँगै टोलको नाली निकास, सडक सुधार तथा वर्षायाममा हुने डुबानको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने माग गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।