घरभित्र माटो, आँखामा आँसु; पीडितको दुःखमा निरंकारी सेवादलको साथ

धादिङ, २२ भाद्र । बाढी–पहिरोले घरआँगन पुरिएपछि आफैंले माटो पन्छाउन नसक्ने परिवारका लागि सन्त निरंकारी मण्डल नेपालका सेवादल र स्वयंसेवकहरू सहारा बनेका छन्। धादिङको गल्छी गाउँपालिकामा सोमबार बिहानदेखि निरंकारी सेवादलले विपद्मा परेका परिवारका घरबाट माटो हटाउने सेवाकार्य सुरु गरेको हो।

सेवा सुरु गर्नुअघि सन्त निरंकारी मिसनको मानव सेवा, सहयोग र सेवाभावका गतिविधिबारे गल्छी गाउँपालिकाका अध्यक्ष, विभिन्न वडाका अध्यक्ष तथा स्थानीयवासीलाई जानकारी गराइएको थियो। त्यसपछि गाउँपालिका अध्यक्ष केदार खतिवडा तथा स्थानीय जनप्रतिनिधिहरूले आवश्यकता र प्राथमिकताका आधारमा सहयोग गर्नुपर्ने घरबारे जानकारी गराएका थिए। उनीहरूको निर्देशनअनुसार अपाङ्गता भएका, अशक्त तथा घरमा सहायता गर्ने सदस्य नभएका परिवारको घरलाई प्राथमिकतामा राखेर माटो हटाउने कार्य अघि बढाइएको हो।
बिहान ८ बजेदेखि बैरेनी–गल्छी क्षेत्रमा सुरु भएको सेवाकार्यका क्रममा तीनतले एउटा घरको तीनै तलामा जमेको माटो हटाउने काम भइरहेको छ। बाढीको भेलसँगै घरभित्र पसेको करिब चार फिटसम्मको माटो हटाउनु सामान्य काम थिएन। तर, पीडित परिवारको पीडा देखेपछि सेवादलका जवान र स्वयंसेवकहरूले थकानको पर्वाह नगरी हातमा बेल्चा र अन्य औजार बोकेर माटो पन्छाइरहेका छन्।
एक समय परिवारको आश्रय बनेको घर अहिले माटोले पुरिएको छ। कोठाभित्र थुप्रिएको माटो, अस्तव्यस्त सामान र विपद्ले छाडेको पीडाबीच स्वयंसेवकहरू घर सफा गरिरहेका छन्। उनीहरूको उद्देश्य एउटै छ—विपद्मा परेका परिवारलाई आफ्नो घरमा फेरि फर्किन सक्ने वातावरण बनाउनु।
सन्त ध्रुव अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष खतिवडाको निर्देशनअनुसार प्राथमिकतामा परेका घरमा सेवा सुरु गरिएको हो। उनले पहिलो घरको माटो हटाएपछि घरमुली अपाङ्गता भएका अर्को परिवारको घर सफा गर्ने तयारी रहेको बताए।


“गाउँपालिकाबाट जसरी निर्देशन आउँछ, त्यसैअनुसार हामी सेवाकार्यलाई निरन्तरता दिनेछौँ,” अधिकारीले भने।
सेवामा सन्त निरंकारी मण्डल नेपालका सेवादल क्षेत्रीय सञ्चालक बाबुराज महर्जनको नेतृत्व तथा निर्देशनमा सेवादलका जवान र स्वयंसेवकहरू परिचालित छन्। सेवादलका सदस्यहरू निर्धारित पोशाकमा तथा अन्य स्वयंसेवकहरू स्वयंसेवकको पोशाकमा सेवामा खटिएका छन्।
यस अभियानमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य अनिल महर्जन, सेवादल शिक्षक तथा अन्य सन्तहरूको समेत उत्साहजनक सहभागिता रहेको छ।
विपद्ले कसैको घर मात्रै पुरिएको छैन, धेरै परिवारको सुरक्षित भविष्य र आश्रयसमेत माटोमुनि दबिएको छ। त्यही पीडाको बीचमा निरंकारी सेवादलका हातहरू माटो पन्छाउन अघि बढेका छन्। सन्त निरंकारी मिसनले दिने मानव सेवाको सन्देशलाई व्यवहारमा उतार्दै स्वयंसेवकहरू पीडितको घरआँगनमै पुगेर दुःखमा साथ दिइरहेका छन्।
उनीहरूका लागि यो केवल घर सफा गर्ने काम होइन, विपत्तिमा परेका मानिसको दुःखमा हातेमालो गर्दै मानवताको घर फेरि उभ्याउने प्रयास हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.