घटना

विवाहको वाचा गरेर बलात्कार गरेको आरोपमा टीकापुरका सवारी चालक चिसापानीबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ भाद्र । विवाह गर्ने वाचा गर्दै केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएपछि कैलालीमा एक सवारी चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२, बागमारा बस्ने २९ वर्षीय आशाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार चौधरी टीकापुरकी २६ वर्षीया युवतीसँग केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। युवतीले आफूहरूबीच विवाह गर्ने सहमति भएको र सोही क्रममा शारीरिक सम्बन्धसमेत रहेको जाहेरीमा उल्लेख गरेकी छन्।

तर, चौधरीले आफूलाई जानकारी नदिई अर्कै युवतीसँग विवाह गरेको र विवाहपछि पनि आफूसँग सम्पर्क तथा सम्बन्ध कायम राखेको युवतीको आरोप छ।

यही क्रममा गत २८ साउनमा चौधरीले आफूलाई अत्तरियास्थित मोहित मनिष निगाली बोगटान होटल एण्ड लजको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

युवतीले भदौ १६ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दर्ता गराएकी हुन्।

जाहेरीमा चौधरीले विगतदेखि नै विवाह गर्ने प्रलोभन देखाएर आफूलाई प्रेम सम्बन्धमा राखेको, त्यसैबीच आफूलाई जानकारी नदिई अर्कै युवतीसँग विवाह गरेको र विवाहपछि पनि आफूसँग सम्बन्ध कायम राखेको आरोप लगाइएको छ।

जाहेरीका आधारमा प्रहरीले चौधरीलाई आइतबार दिउँसो चिसापानीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी नेपालगञ्जबाट गाडी चलाएर धनगढीतर्फ आउँदै गर्दा चिसापानीमा पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले युवतीको किटानी जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको पुष्टि गरे।

उनका अनुसार पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।