‘छोरा ! तिमीलाई नलिई म घर फर्किन्न’- बेपत्ता समीरको खोजीमा ब्यारेकअगाडि आमाको कारुणिक पुकार

नुवाकोट, २२ भदौ । भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलबाट बेपत्ता भएका २५ वर्षीय समीर पौडेलको खोजी तथा उद्धारका लागि उनकी आमा सुनिता पौडेलले आग्रह गरेकी छन्।
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत नवलपुरको कावासोती–८ निवासी समीर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेका थिए। गत भदौ १० गते आएको बाढीपछि उनी सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
छोरा बेपत्ता भएको जानकारी पाएपछि केही दिनसम्म घरमै बसेर उद्धार तथा खोजीसम्बन्धी जानकारीको प्रतीक्षा गरेकी सुनिता अहिले आयोजनास्थल पुगेकी छन्। उनी नेपाली सेनाको ब्यारेकअगाडि बसेर छोराको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरिरहेकी छन्।
सुनिताले समीर सकुशल रहेको विश्वास व्यक्त गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन्। “मेरो छोरा सकुशल छ। उसलाई जसरी पनि उद्धार गरिदिनुहोस् भनेर सरकारसँग पटक–पटक अपिल गरेँ,” उनले भनिन्, “अब छोरालाई नभेटेसम्म म यहाँबाट फर्किन्नँ।”
उनले आयोजनास्थलमा भइरहेको खोजी तथा उद्धार कार्यप्रति आफू सन्तुष्ट हुन नसकेको पनि बताइन्। उनका अनुसार लामो समयदेखि छोराको अवस्थाबारे स्पष्ट जानकारी नपाउँदा परिवार थप चिन्तित बनेको छ।
बेपत्ता छोरालाई सम्बोधन गर्दै सुनिताले भनिन्, “जहाँ भए पनि आफूलाई सम्हालेर बस्नु है मेरो बाबु। हिम्मत नहार्नु। तिम्रो मामु तिमीलाई लिन यहाँसम्म आइपुगेकी छे।”
भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनास्थल तथा आसपासबाट केही व्यक्ति अझै सम्पर्कविहीन रहेको बताइएको छ। बेपत्ता व्यक्तिका परिवारले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गर्दै आएका छन्।
समीरको परिवारले उनको अवस्था र खोजी कार्यबारे आधिकारिक जानकारीको प्रतीक्षा गरिरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
