जनताको सुख–दुःखमा साथ दिँदै खेम घर्तीमगर

सिमचौर । बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरका वडा अध्यक्ष खेम घर्तीमगरले विकास निर्माणसँगै नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिँदै आएको वडा तहले जनाएको छ। समस्या परेका स्थानमा पुगेर अवस्था बुझ्ने, नागरिकसँग संवाद गर्ने र समाधानका लागि पहल गर्ने उनको कार्यशैलीलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
घर्तीमगरको नेतृत्वमा वडामा विद्युत्, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी तथा आवासलगायतका क्षेत्रमा विभिन्न योजना अघि बढिरहेका छन्। वडा नं. १ का करिब ५४० घरधुरीमध्ये करिब ३०० घरमा राष्ट्रिय विद्युत् लाइन जडान भइसकेको र बाँकी घरधुरीमा पनि विस्तारको काम जारी रहेको जनाइएको छ।
काटै–मोरा सेती लोकमार्ग जोड्ने सडक तथा झ्यामतोल–गुईनाडन सडक निर्माण अघि बढिरहेको छ। त्यस्तै सिमचौर स्वास्थ्य भवन र काटै सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण सम्पन्न भएका छन् भने सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ।
शिक्षातर्फ सिमचौर माध्यमिक विद्यालयको तीन कोठे भवन निर्माण सम्पन्न भएको छ भने कर्कटेश्वर माध्यमिक विद्यालयको घेरबार निर्माण भइरहेको छ। खानेपानीतर्फ सिरपातल–काटै योजना सम्पन्न भएको तथा घरमुक्ति अभियानअन्तर्गत १३५ घरमा जस्तापाता वितरण र १६४ घरमा जस्तापाता ठोक्ने काम गरिएको वडा तहले जनाएको छ।
वडामा पूर्वाधार विकाससँगै स्थानीय रोजगारी सिर्जना भने अझै प्रमुख चुनौतीका रूपमा रहेको छ। रोजगारीका लागि अभिभावक भारत जाने र त्यसको प्रभाव बालबालिकाको शिक्षामा समेत पर्ने गरेको बताइएको छ। स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ।
वडा अध्यक्ष घर्तीमगरले जनताको विश्वासलाई आफ्नो सार्वजनिक जीवनको मुख्य शक्ति भएको बताउँदै जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूले गरेका काम पूर्ण नभएको स्वीकार गर्दै बाँकी कामलाई आगामी दिनको जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
सिमचौरमा विद्युत्, सडक, स्वास्थ्य, शिक्षा र खानेपानीका क्षेत्रमा काम अघि बढे पनि सबै घरधुरीमा विद्युत् पुर्याउने, सडकलाई व्यवस्थित बनाउने, सेवाको गुणस्तर सुधार गर्ने र स्थानीय रोजगारी सिर्जना गर्ने विषय आगामी दिनका प्रमुख चुनौती देखिएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
