बाबाको कुशको चितामा आगो सल्किँदा टुलुटुलु हेरिरहे छोरा

अमरावती । बाबाको शवसम्म पनि पुग्न नपाएका दीपक सुनारका परिवारले अन्ततः कुशको पुत्ला बनाएर अन्त्येष्टि गरेका छन्। कर्णाली नदीमा शव फालिएको भनिए पनि लामो खोजीपछि समेत शव फेला नपरेपछि परिवारले धार्मिक संस्कारअनुसार कुशको पुत्ला बनाएर अन्त्येष्टि गरेका हुन्।
सबैभन्दा हृदयविदारक दृश्य त्यतिबेला देखियो, जब दीपकका छोरा आफ्नै बाबाको कुशको चितामा आगो सल्किरहेको टुलुटुलु हेरिरहेका थिए। बाबाको अन्तिम अनुहार हेर्ने, शवलाई काँध दिने र अन्तिम संस्कार गर्ने छोराको चाहना पूरा हुन सकेन।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको योजनाबद्ध रूपमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा उनकी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। अनुसन्धानमा दीपकलाई अमरावती जंगलमा लगेर हत्या गरेपछि शव कर्णाली नदीमा फालिएको खुलेको प्रहरीले जनाएको छ।
तर नदीमा शव नभेटिएपछि परिवारले कुशको पुत्लालाई नै दीपकको प्रतीक मानेर अन्तिम संस्कार गर्न बाध्य भयो।
एकातिर बाबाको चिता जल्दै थियो, अर्कोतिर अबोध छोराको आँखाले त्यही आगोमा आफ्नो बाबाको अन्तिम बिदाइ खोजिरहेको थियो। बाबाको वास्तविक शवसमेत नदेखी गरिएको यो अन्त्येष्टिले परिवारको पीडा झन् गहिरो बनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
