पाँच मिनेटको बाढीले टिमुरेका कामि नुर्पुको सपना र परिवार खोस्यो

सुवा । नेपाल–चीन व्यापारको मुख्य केन्द्रका रूपमा रहेको रसुवाको टिमुरे बजारमा पाँच वर्ष लगाएर निर्माण गरेको ‘पाशुपत लाङटाङ होटल’ कामि नुर्पु तामाङको आँखैअघि भदौ १० गतेको विनाशकारी बाढीमा बग्यो।
बाढी आउँदा होटलमा ११५ जना पर्यटक थिए। अचानक बिजुली काटिएपछि उनीहरू होटलको आँगनमा निस्किएकाले धेरैको ज्यान जोगियो। तर, भोटेकोशीको बाढी र पहिरोले केही मिनेटमै टिमुरे बजारलाई बगरमा परिणत गर्यो। कामि नुर्पुले आफ्नै आँखाअघि ८२ वर्षीय बुवालाई गुमाए।
बाढीमा उनले होटल र घर मात्र गुमाएनन्, श्रीमतीको माइतीतर्फका सासु–ससुरासहित नौ जना आफन्तसमेत गुमाए। ३०० भन्दा बढी घर तथा होटल रहेको टिमुरे बस्ती नै तहसनहस भएपछि उनी अहिले काठमाडौंको स्वयम्भूस्थित अस्थायी शिविरमा आश्रय लिएर बसेका छन्।
आफूसँग लगाएको लुगाबाहेक केही नरहेको अवस्थामा पुगे पनि कामि नुर्पुले हिम्मत हारेका छैनन्। “सम्पत्ति र आफन्त गए पनि मेरो विचार र अठोट गएको छैन,” उनी भन्छन्।
अब उनको माग राज्यसँग एउटै छ—चीनसँग समन्वय गरी नाका र सडक सञ्चालनको वातावरण बनाइयोस् तथा बैंकको ऋण तिर्ने अवस्था सिर्जना गरियोस्। “राज्यले पुनःस्थापनाको बाटो देखाइदिए म फेरि व्यापार गरेर देशलाई कर तिर्न सक्छु,” उनी बताउँछन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
