कम जमिन र थोरै लगानीमै कृषि पर्यटन सम्भव : कालु हमाल

टीकापुर, ३० भदौ । कृषि र पर्यटनलाई एकै ठाउँमा जोडेर कम जमिन र थोरै लगानीमा पनि आम्दानी गर्न सकिने भन्दै कृषि अभियन्ता कालु हमालले ‘एग्रो टुरिजम’को अवधारणालाई अघि बढाएका छन्।
रामपुरबाट २०३९ सालमा बीएससी एग्री (कृषि विज्ञान) उत्तीर्ण गरेका हमालले व्यावसायिक खेतीका लागि जमिनको अभाव र बढ्दो जग्गाको मूल्यलाई ध्यानमा राख्दै करिब १७ वर्षअघि कृषि पर्यटनको अवधारणा सुरु गरेका हुन्। उनका अनुसार नेपाल भौगोलिक, वनस्पति तथा जैविक विविधताका दृष्टिले सम्भावनायुक्त मुलुक भएकाले उपलब्ध स्रोतको सदुपयोग गरेर सानो लगानीमा पनि कृषि पर्यटनबाट राम्रो आम्दानी गर्न सकिन्छ।

‘हाम्रा दुई छिमेकी मुलुक भारत र चीनको एक प्रतिशत जनसंख्यालाई मात्र नेपालमा आकर्षित गर्न सकियो भने त्यो संख्या नेपालको कुल जनसंख्याको हाराहारी हुन्छ,’ हमालले भने, ‘यही सम्भावनालाई ध्यानमा राखेर जुनसुकै स्थानमा र जोसुकैले अपनाउन सक्ने कृषि पर्यटनको मोडल विकास गरेका हौं।’
उनका अनुसार कृषि पर्यटनमा रुचि राख्नेहरूका लागि निःशुल्क तालिमको व्यवस्था गरिएको छ। इच्छुक व्यक्तिलाई सात दिनसम्म आवाससहित व्यावसायिक खेती, उत्पादन, प्रशोधन, बजारीकरण र पर्यटनसँग जोड्ने तरिकाबारे तालिम दिइन्छ।
हमालले टीकापुरमा व्यावसायिक केरा खेतीको सुरुआतसमेत गरेका हुन्। टीकापुरमा केरा खेतीको सम्भावना देखेर सुरु गरिएको उनको प्रयास अहिले विस्तार हुँदै गएको छ। टीकापुरका विभिन्न क्षेत्रमा ठूलो भूभागमा केरा खेती देखिनुमा आफूले सुरु गरेको अभियानले पनि योगदान पुर्याएको हमालको दाबी छ।
कृषिलाई उत्पादनमा मात्र सीमित नराखी त्यसलाई पर्यटनसँग जोड्ने उद्देश्यले उनले टीकापुरको बन्दीपुर र टीकापुर पार्क रोडमा ‘बनाना रिसोर्ट’समेत सञ्चालनमा ल्याएका छन्। रिसोर्टमा केरालाई विभिन्न परिकारका रूपमा प्रयोग गरी पाहुनालाई खानाका परिकार उपलब्ध गराइन्छन्। यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै कृषिलाई पर्यटनसँग जोड्ने उनको अवधारणालाई व्यवहारमा उतारेको छ।
उत्पादित कृषि उपज खेर जान नदिई स्थानीयस्तरमै खपत र बजारीकरण गर्ने उद्देश्यले कृषि पर्यटनको अभियान अघि बढाइएको हमालले बताए। उनका अनुसार अहिले इलाम, दार्चुला, नवलपरासी र चितवनलगायतका जिल्लामा पनि यो मोडल प्रयोगमा आएको छ।
‘कृषिका लागि ठूलो जमिन र ठूलो लगानी नै चाहिन्छ भन्ने सोच परिवर्तन गर्न आवश्यक छ,’ हमालले भने, ‘उपलब्ध जमिन, स्थानीय उत्पादन र पर्यटनलाई एकीकृत गर्न सके गाउँमै रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.