टीकापुरमा घाँसे सङ्क्रान्ति, देउडा र न्याउल्या खेल हुने

टीकापुर, ३० भाद्र । कैलालीको टीकापुरमा आगामी असोज १ गते घाँसे सङ्क्रान्तिको अवसरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। रामारोशन विकास केन्द्रको आयोजनामा हुने कार्यक्रममा देउडा, भुवो, पञ्चेबाजा तथा महिला–पुरुषको न्याउल्या खेललगायत प्रस्तुति रहनेछन्।
रामारोशन गाउँपालिकाबाट बसाइँ सरेर देशका विभिन्न स्थानमा पुगेका अछामी समुदायलाई एकताबद्ध गर्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष दिनेशकुमार शाहले बताए। सोही दिन केन्द्रको प्रथम साधारणसभा समेत हुने उनले जानकारी दिए।
अछाममा असोज १ गतेलाई घाँसे सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ। यस दिन बिहान गाईलाई घाँस खुवाएर पूजा गर्ने र त्यसपछि दिनभर विभिन्न खेल तथा सांस्कृतिक गतिविधि गर्ने चलन रहेको छ। यही मौलिक परम्परालाई टीकापुरमा निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अछाम तथा रामारोशन क्षेत्रका स्थानीय गायक, कलाकार र बाजागाजा टोलीको प्रस्तुति रहनेछ। देउडा र न्याउल्या खेललाई प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको तयारीस्वरूप टीकापुरस्थित खुला मैदान परिसरमा मंगलबार सरसफाइसमेत गरिएको छ।
साधारणसभा तथा सांस्कृतिक कार्यक्रममा पूर्वसुदूरपश्चिम मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री झपटबहादुर साउँद, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।
अध्यक्ष शाहका अनुसार कार्यक्रम सामाजिक सेवा, संस्कृति संरक्षणसँगै विभिन्न स्थानमा छरिएर रहेका अछामीबीच आपसी सम्बन्ध, समन्वय र सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.