टीकापुर

भेरी साहित्य समाज कैलालीको अध्यक्षमा भण्डारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ५ असोज । भेरी साहित्य समाज कैलाली शाखाको दोस्रो जिल्ला अधिवेशनले दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार टीकापुरमा सम्पन्न अधिवेशनले जिल्लाको साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।

लोक कल्याणकारी विज्ञापन

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कान्तिप्रसाद ज्ञवाली, सचिवमा गौरीकुमारी जैसी, सहसचिवमा कमलप्रसाद भाट र कोषाध्यक्षमा नैनसिंह ओड चयन भएका छन्। सदस्यमा अमितकुमार चौधरी, मनिराम सुनार, शान्ति काफ्ले (तिमिल्सिना) र रमेश वादी छन्।

नवनिर्वाचित कार्यसमितिलाई भेरी साहित्य समाजका केन्द्रीय सल्लाहकार सदस्य एवं अध्यक्षमण्डलका संयोजक डा. हरिप्रसाद तिमिल्सेनाले शपथ गराएका थिए। कार्यक्रममा केन्द्रीय सल्लाहकार तिमिल्सेना र केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिए। अध्यक्ष भण्डारीले कैलालीमा साहित्यिक सिर्जना, अध्ययन र विमर्शको वातावरण विस्तार गर्दै साहित्यकारबीच सहकार्य बढाउने प्रतिबद्धता जनाए।

लोक कल्याणकारी विज्ञापन

अधिवेशनको खुला सत्रमा पूर्वऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले साहित्य समाजले स्थानीय सिर्जना र प्रतिभालाई संरक्षण गर्दै नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नुपर्ने बताए। केन्द्रीय सल्लाहकार संयोजक तिमिल्सेना, अध्यक्ष बस्नेत तथा टीकापुर नागरिक समाजका अध्यक्ष भीमराम चपाईंले साहित्यिक संस्थाको सक्रियताले स्थानीय साहित्यको विकासमा योगदान पुग्ने बताए।

कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हेमन्तराज माण्डव्य, आर्य समाजका केन्द्रीय उपाध्यक्ष टीकाराम आर्य, टीकापुर प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिम साहित्य समाज कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमाल र देवकोटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावललगायतको सहभागिता थियो।

समारोहमा नरबहादुर थापा, कमलप्रसाद भाट र नैनसिंह ओडलगायतले रचना वाचन गरेका थिए। समाजको आजीवन सदस्यता लिएका सदस्यलाई सदस्यता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

शाखाका अध्यक्ष डा. चक्रप्रसाद अधिकारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन र उपाध्यक्ष कान्तिप्रसाद ज्ञवालीले स्वागत गरेका थिए।

लोक कल्याणकारी विज्ञापन