सयको रिचार्ज जसले बनायो करोडपति

काठमाडौं । भनिन्छ, जीवनमा जति दुःख र पीडा परे पनि कहिल्यै हार खानु हुँदैन । मिहिनेत गरिरहने हो, भाग्यले कतिबेला कोल्टे फेर्छ र सुखका दिन आउँछ भन्ने थाहा हुँदैन । त्यसैले, दुःख पीडा पर्नु भनेको कुनै दिन सुखको दिन पनि आउँछ भन्ने नै हो ।
त्यसरी सुख पाउनेहरू विरलै हुन्छन् । कुनैबेला कसैले गरेको फोन सुखको खबर अर्थात् जीवन नै कायापलट हुनेगरी आउँछ भन्ने धेरैलाई नलाग्न सक्छ । तर, धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल बसेराकी पार्वती कार्कीको जीवन यसैगरी कायायपटल हुँदै छ । विदेशमा श्रीमान्सँग कुरा गर्नका लागि खरिद गरिएको एनसेलको ९९ को रिचार्ज प्याकले उनलाई एक्कासि करोडपति बनायो ।

पार्वतीका लागि २ साउनको साँझ आएको फोनले सम्भवतः जीवनकै सबैभन्दा ठूलो खुसी लिएर आएको थियो । उनलाई एनसेलको एकै नम्बरबाट दिनभरी पटकपटक फोन आएको थियो तर मेलामा गएकाले उनले घरमै फोन छोडेकी थिइन् ।
पहिला त उनले पत्याइनन् र काठमाडौंमा सम्पर्क गर्न आउन भन्दा पनि पन्छाउन खोजिन् । दिनभरिको मेलापात सकाएर घरमा थकित हुँदै भान्सामा केही मीठो मसिनो बनाउँदै थिइन् । उनको फोनमा त्यही नम्बरबाट आएको कलको घण्टी बज्यो ।
‘खाना पकाउँदै थिएँ, फोनको घण्टी बज्यो र केही समय उठाउने वा नउठाउने भनेर अलमलमा पर्दै उठाएँ,’ उनले भनिन्, ‘जब उताबाट यो तपाईंको आफ्नै नम्बर हो भनेर प्रश्न आयो, केही समय रोकिएर हो भनें, राम्रो पुरस्कार परेको छ, काठमाडौंमा एनसेल अफिस आउनुस् भन्नुभयो, मैले मेलाको चटारो छ, पछि आउँला भने, होइन सोमबारै आउनुस् राम्रो पुरस्कार छ भन्नुभयो, फेरि अनि फोन राखें ।’
पुरस्कार छ भनेर उताबाट भने पनि उनलाई विश्वास भने लागेन । उपहारका नाममा धेरै ठगी भएको र छलकपट पनि गर्ने गरेको खबर उनले पहिला धेरैपटक सुनेकी थिइन् । धेरैपटक फोन आएको त्यसमाथि महिलाले खबर फोनबाट सुनाएकाले केही न केही त हो भन्ने उनलाई खुल्दुली हुन थालेको थियो ।
शनिबार दिनभर छिमेकमा हल्लाखल्ला भयो । एनसेलबाट १ करोड जितेको भनेर छरछिमेकमा ठोकुवा हुन थाल्यो । सोमबार एनसेलले बोलाएकाले काठमाडौंमै काममा रहेका देवर र पढ्न बसेका छोरालाई लिएर एनसेल जान उनी आइतबारै धादिङबाट हिँडिन् ।
यतिन्जेलसम्म देवर र छोराले पनि काठमाडौं बोलाइसकेका थिए । जब काठमाडौं आएर फोनमा भनिएको एनसेलको केन्द्रीय कार्यालय पुगेर सिमको प्रमाणीकरण गराइन्, त्यसपछि उनी दंग परिन् । किनकि, एनसेलले उनलाई आधिकारिक रूपमा १ करोड रुपैयाँ नगद पुरस्कार जितेको आधिकारिक जानकारी दियो ।
जीवनमा कल्पनासमेत नगरेको पुरस्कार त्यो पनि १ करोड रुपैयाँ पाएको खबर पाउँदा उनको खुसीको सीमा नै रहेन । ‘पुरस्कार पाएको खबर सुन्दा निकै खुसी छु, अब यो पैसाले सबै ऋण तिर्छु र विदेशमा रहेका श्रीमान्लाई नेपालमै राखेर केही उद्यम गर्छु’, उनले भनिन् ।
पार्वतीको त्यो दर्दनाक पीडा
कक्षा ९ मा फेल भएपछि साथीहरूको लहैलहैमा स्कुल जान छोडेकी पार्वतीको २३ वर्षको उमेरमा गाउँकै धनबहादुर कार्कीसँग विवाह भयो । विवाह भएकै १ वर्षमा उनको छोरा जन्मियो ।
गाउँमा सामान्य खेती किसानी गर्दै आएका कार्की परिवारमा छोरा जन्मिएपछि थप जिम्मेवारी थपियो । घरमा सासू–ससुरा र देवर भए पनि उनीहरू पहिलेदेखि नै छुट्टै बस्दै आएका छन् । गाउँमा खेती किसानी गरेर मात्र नहुने भयो भन्दै उनले श्रीमान् धनबहादुरलाई विदेश पठाइन् । त्यसो त श्रीमान् त्यसअघि पनि दुई–तीनपटक विदेश गएर आएका थिए । परिवारको आर्थिक बोझलाई केही कम गर्न सकिन्छ कि भनेर विदेश गएको ६ महिनामै लामो बिरामी भएपछि नेपाल फर्केर आए ।
‘घरमा आएपछि केही समय उपचार र आरामपछि अब विदेश जान्न, नेपालमै केही गर्छु भनेर श्रीमान्ले भन्नुभयो र दुवै मिलेर काठमाडौंमा पसल सुरु गरेका थियौं तर पसल लामो समयसम्म चल्न सकेन, पैसा कमाउनेभन्दा बढी गुम्यौं,’ उनले भनिन् ।
९ लाख रुपैयाँमा सुरु गरेको पसल ६० हजारमा बिक्री गर्ने अवस्थामा पुग्यो । पसलको ऋण थुप्रिएपछि उनका श्रीमान् फेरि विदेश जाने मुडमा पुगे । ‘अब पसलकै ऋण मात्र तिर्न भए पनि केही समय विदेश जान्छु भन्ने भएपछि मैले पनि हुन्छ भनेर पठाएँ,’ कार्कीले भनिन्, ‘अहिले बहराइनमा हुनुहुन्छ, एलर्जीले बिरामी हुँदा पनि काम गरिरहनुभएको छ, आउँदो भदौको अन्तिममा आउनुहुन्छ ।’
विदेश पठाउने म्यानपावर कम्पनीले एउटा काम भनेर अर्कै काम लगाएर धेरै साथीहरू २ वर्षअघि नै फर्किए पनि उनका श्रीमान् भने पसलको ऋण तिर्नकै लागि भए पनि बसिरहेको बताउँछिन् उनी । ‘बहराइनमा पनि उहाँलाई सञ्चो छैन, एलर्जीको बिरामी हुनुहुन्छ,’ भावुक हुँदै कार्कीले भनिन्, ‘ऋणकै कारण औषधि खाएर काम गरिरहनुभएको छ, अब आउनुभएपछि फिर्ता पठाउदिनँ ।’
भूकम्पमा छोरा गुमाइन्
एनसेलको सधैं अन करोडपति योजनामा १ करोड पाएर जति खुसी अहिले पार्वतीलाई मिलेको छ, त्यसभन्दा सयौं गुणा पीडा भोगेकी छिन् उनले । २०७२ सालको भूकम्पमा परी उनको एक महिना दुई दिनको छोरा गुमाउनुपरेको थियो ।
‘नयाँ घर बनाएर सर्ने तयारी भइरहेका बेला धन्सारमा सुताइरहेका बेला एक्कासि आएको भूकम्पले कान्छो छोरालाई सदाका लागि लगेर गयो,’ स्वरभारी पार्दै पार्वतीले भनिन् । कार्की अहिले गाउँमा खेतीपाती, घरधन्दासँगै २०६४–६५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकासमेत निर्वाह गरिरहेकी छन् ।
८ वर्षअघि नै किनेकी थिइन् एनसेलको सिम
गाउँमा राम्रै नेटवर्क आउने हुनाले पार्वतीले ८ वर्षअघिदेखि नै एनसेल प्रयोग गर्दै आएको बताइन् । ‘म नियमित रूपमा यही सिम प्रयोग गर्ने भएकाले बेलाबेलामा प्याक किनेर कुरा गर्ने गरेको छु,’ कार्कीले भनिन्, ‘कुन बेलाको प्याकले करोड प¥यो, थाहै भएन ।’
साभार : राजधानी दैनिक
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
