टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव’ कार्यक्रम हुने

टीकापुर, १२ चैत्र । टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव’ कार्यक्रम हुनेभएको छ । उक्त महोत्सव टीकापुर साहित्य समाजको आयोजनामा चैत १३ गतेदेखि १५ गतेसम्म हुँदैछ ।
चैत १३ र १४ मा हुने बहससत्रमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त साहित्यकार, लेखक, कलाकार, रङ्गकर्मी सञ्चारकर्मी र अभियन्ताहरूलाई स्थान दिइएको छ । यी सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, प्राडा. माधवप्रसाद पोखरेल, साहित्यकार सरुभक्त, रङ्गकर्मी निर शाहका विचार सुन्न पाइने छ।

दोस्रो दिन हुने कार्यक्रममा लेखनमा महिला रङ, केन्द्रिकृत लेखन र सुदूरको यथार्थ शीर्षकको संवादमा लेखक तथा साहित्यकारहरुमा रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, लक्की चौधरीले संवाद गर्नुहुनेछ । सो सत्रको सहजीकरण साहित्यकार जनक रसिकले गर्नुहुनेछ । दोस्रो दिन डाक्टर वसन्त पन्तले मृत्यू चिन्तन विषयमा बहस गर्नुहुने छ ।
महोत्सवको तेस्रो दिन सात वटा सत्रहरू थारू साहित्य र संस्कृति विशेष हुने छन् । यस दिन थारू समाजका बरघर परम्परा, थारू समुदायको चाडपर्व, मूलधारको साहित्य र थारू बिम्ब, थारू लोकसाहित्य मौखिक परम्परादेखि आधुनिक लेखनसम्म, आधुनिकताको लहरमा थारू पहिचान, थारू किसानका आँखामा बदलिदो गाउँ, उद्यमशील थारू महिलाजस्ता विषयमा चर्चा हुने छ ।
हरेक दिनको बहससत्रपछि साँझ विशेष कार्यक्रम हुने छन् । पहिलो दिनको साँझ यज्ञराज उपाध्याय र शोभा थापा मगरको उपस्थितिमा देउडा गायन हुने छ । साहित्यकारहरूबाट काव्य श्रवण हुने छ । दोस्रो दिन गजल श्रवण गरिने छ । तेस्रो दिनको साँझ थारू लोकगीत श्रवण, थारू सांस्कृतिक कार्यक्रम र रामलीला नाच हुने छन् ।
टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाह महोत्सवले स्थानीयताको प्रवर्धन गर्ने, स्थानलाई राष्ट्रिय रूपमा चिनाउने र राष्ट्रिय व्यक्तित्वहरूलाई स्थानीय परिवेश देखाउने काम गरेको बताउनुभयो ।
उहाँका अनुसार बहसमा बोल्ने वक्ताका कुराहरूबाट लोकतान्त्रिक परिवेश बुझ्न सहयोग पुग्ने, सृजनशीलता र पठन संस्कृति घटदोक्रममा रहेकाले यहाँ प्रतिभाहरूको साहित्यमा रुचि जगाउने उहाँको विश्वास छ ।
टीकापुर महोत्सवको पूर्वसन्ध्यामा नाटककार अशेष मल्लले नौ जना स्थानीय प्रतिभालाई दुई दिनको नाटक लेखन, अभ्यास गराउनुभएको छ । छ वटा स्थानमा लागु औषधविरुद्धको सडक नाटक देखाइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
