जेन्जी आन्दोलनमा छोरा गुमाएकी रचनाको बयान- ‘राहत भन्दा पनि दोषीलाई कारबाही र सुशासन मुख्य कुरा हो’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएकी रचना खतिवडा खत्रीले घटनाको मुख्य जिम्मेवार तत्कालीन नीति निर्माण तहका व्यक्तिहरू र फिल्ड कमान्डरहरू भएको बताएकी छिन् ।
जाँचबुझ आयोगसमक्ष आफ्नो लिखित बयान दिँदै उनले कक्षा १२ मा अध्ययनरत छोरा रसिक खतिवडाको मृत्युको पीडा र देशको विसंगतिपूर्ण अवस्थाप्रति गम्भीर आक्रोश र चिन्ता व्यक्त गरेकी हुन् ।

आफ्नो बयानका क्रममा रचनाले भदौ २३ गतेको उक्त त्रासदीपूर्ण दिनको स्मरण गर्दै रसिक साथीहरूसँग स्वतःस्फूर्त रूपमा आन्दोलनमा सहभागी हुन घरबाट निस्किएको जानकारी दिएकी छिन् ।
जेनजी आन्दोलनमा जान्छु भनी बानेश्वर पुगेका रसिकलाई सुरक्षाकर्मीले कुनै चेतावनी नदिई दमनकारी रूपमा छाती र कोखामा गोली प्रहार गरेको उनको आरोप छ ।
आन्दोलनकारीले नै अस्पताल पुर्याएका रसिकको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।
नेपाल सरकारबाट राहत स्वरूप १५ लाख रुपैयाँ प्राप्त गरेको उल्लेख गर्दै उनले राहत रकमभन्दा पनि न्याय ठूलो विषय भएको बताएकी छन् ।
घटनाका लागि तत्कालीन सरकार, मातहतका निकाय र सुरक्षा कमान्डरहरूलाई जिम्मेवार ठहर्याउँदै उनले दोषीलाई हदैसम्मको न्यायिक कारबाही हुनुपर्ने माग गरेकी छिन् ।
यस्ता घटना भविष्यमा पुनः नदोहोरिने वातावरण निर्माण गर्न र देशमा व्याप्त कुशासन, भ्रष्टाचार र नातावादको अन्त्य हुनुपर्ने उनको जिकिर छ ।
रचनाले आफ्नो बयानको अन्त्यमा देशको वर्तमान अवस्थाप्रति संकेत गर्दै सक्रिय सरकारी संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख गरेकी छिन् ।
भ्रष्टाचार र कुशासनकै कारण निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले छोराको बलिदानलाई देश सुधार्ने अवसरका रूपमा लिन र वास्तविक दोषीलाई कानुनी कठघरामा उभ्याउन आयोगसँग आग्रह गरेकी छिन् ।
उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी छिन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
