बडिमालिकामा अब नेपाल टेलिकमको ४जी सेवा सञ्चालन हुने

बाजुरा , २२ साउन । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा अब नेपाल टेलिकमको ४जी सेवा सञ्चालन हुने भएको छ। दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने उद्देश्यसहित बडिमालिकामा टावर स्थापना गरी सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो।
सम्बन्धित निकायका अनुसार आगामी भदौ १२ गते पर्ने साउने पूर्णिमाको मेला अगावै बडिमालिकामा ४जी सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। टावर स्थापनाका लागि आवश्यक काम अघि बढिसकेको र तोकिएको समयभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको बताइएको छ।
४जी सेवा सञ्चालनमा आएपछि बडिमालिका पुग्ने हजारौँ भक्तजन, स्थानीय बासिन्दा तथा पर्यटकलाई सञ्चार सम्पर्कमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ। हालसम्म सञ्चार सेवाको सीमित पहुँचका कारण बडिमालिका क्षेत्र पुग्ने यात्रु तथा तीर्थयात्रीले भोग्दै आएको समस्या समेत कम हुने विश्वास गरिएको छ।
विशेषगरी धार्मिक तथा पर्यटकीय गतिविधि बढ्ने साउने पूर्णिमाको मेलाका समयमा बडिमालिकामा ठूलो संख्यामा भक्तजन तथा पर्यटक पुग्ने गर्छन्। त्यस्तो समयमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध हुँदा आपत्कालीन सम्पर्क, सूचना आदान–प्रदान, डिजिटल भुक्तानी तथा सामाजिक सञ्जालमार्फत पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ।
बडिमालिकामा ४जी सेवा विस्तारलाई दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सञ्चार सेवाको पहुँच विस्तारसँगै स्थानीय बासिन्दा, व्यवसायी, पर्यटक तथा तीर्थयात्री प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
यस पहलका लागि रास्वपा केन्द्रीय सदस्य हेमराज थापा, बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्का, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला लगायत नेपाल टेलिकमको सम्पूर्ण टोलीप्रति स्थानीय स्तरबाट धन्यवाद व्यक्त गरिएको छ।
सम्बन्धित पक्षले निर्धारित समयमै टावर स्थापना गरी ४जी सेवा सञ्चालनमा ल्याउन सके बडिमालिका क्षेत्रको सञ्चार तथा डिजिटल पहुँच विस्तारमा महत्वपूर्ण फड्को हुने विश्वास व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
