सासुससुराले घरबाट निकाले, बाढीले पनि घर राखेन, जुम्ल्याहा सन्तानसहित फेरि सडकमा

धादिङ, २२ भदौ । अन्तरजातीय विवाह गरेपछि सासुससुराले घरबाट निकालिदिएपछि खाली हात श्रीमान्सँग नयाँ जीवन सुरु गरेकी एक महिलाको वर्षौंको संघर्ष फेरि बाढीले उजाडिदिएको छ।
जुम्ल्याहा सन्तानसहित जीवन धान्नका लागि उनले एकछाक मासुसमेत नखाई गरेको बचत र मेहनतबाट विस्तारै जोडेको सम्पत्ति बाढीले एकैछिनमा बगरमा परिणत गरिदिएको छ।
वर्षौंको दुःख, पसिना र अभावपछि बनाएको घर र जोडेको सम्पत्ति आफ्नै आँखाअगाडि बाढीले बगाएपछि उनी भावविह्वल बनेकी छन्। आफूले मेहनत गरेर बनाएको संसार नै एकैछिनमा उजाडिएपछि उनी पीडा सुनाउँदै रोएकी थिइन्।
“यहाँ आएपछि त पागल जस्तै हुन्छु,” उनले रुँदै आफ्नो पीडा सुनाइन्।
अन्तरजातीय विवाहपछि परिवारबाटै अलगिनुपरेको पीडा त उनले सहिन् नै, तर अभाव र संघर्षका बीच जुम्ल्याहा बच्चाको भविष्यका लागि एक–एक रुपैयाँ बचाउँदै जोडेको सम्पत्ति पनि अहिले बाँकी रहेन।
एक समय आफ्नै घर, आफ्नै मेहनत र आफ्ना सन्तानको भविष्यको सपना बोकेर उभिएको ठाउँ अहिले बगर बनेको छ। घर भएको ठाउँमा माटो र ढुंगा मात्रै बाँकी छन्।
आफ्नो जीवनभरको कमाइ र मेहनत एकैछिनमा गुमाउँदाको पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ। विपद्ले घर मात्रै बगाएको छैन, उनको वर्षौंको संघर्ष, सपना र सन्तानका लागि बुनेको भविष्यसमेत बगाइदिएको छ।
तर यति ठूलो विपत्तिका बीच पनि उनको कथा एउटा प्रश्न बनेर उभिएको छ—जसले अभावमा पनि हार मानिनन्, अब उनी र उनका जुम्ल्याहा सन्तानलाई फेरि जीवन सुरु गर्न कसले हात थामिदिने?
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
