आस्था /आध्यात्म

भौतिक प्रगतिसँगै आध्यात्मिक चेतना आवश्यक : अध्यक्ष रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सडकपुर (बौनिया), २८ भाद्र । बौनियामा आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले आध्यात्मिक शिक्षाले मानिसलाई भौतिक प्रगतिसँगै सही–गलत छुट्याउने विवेक, करुणा, प्रेम र मानवताको मार्गमा अघि बढाउने बताएका छन्।

उनले विज्ञान र प्रविधिको तीव्र विकासले मानव जीवनलाई सहज बनाएको भए पनि आध्यात्मिक चेतनाको अभावमा त्यही विज्ञान विनाशको कारण बन्न सक्ने बताए। आणविक हतियारलगायतका विनाशकारी साधनको विकासले मानव सभ्यतामाथि चुनौती थपिएको उल्लेख गर्दै उनले भौतिक ज्ञानसँगै आध्यात्मिक ज्ञान र विवेक आवश्यक रहेकोमा जोड दिए।

अध्यक्ष रावलले दया, प्रेम, नम्रता, सद्भाव र सहिष्णुता नै मानव जीवनका महत्वपूर्ण आधार भएको बताउँदै तुलसीदासको दोहा उद्धृत गरे, “दया धर्मका मूल हैं, पाप मूल अभिमान। तुलसी दया न छोड़िए, जब लग घट में प्राण।”

उक्त दोहाको अर्थ खुलाउँदै उनले दया नै धर्मको मूल आधार र अहंकार नै पाप तथा विकृतिको जड भएको बताए। मानिसको शरीरमा प्राण रहुन्जेल दयाको भाव त्याग्न नहुने उल्लेख गर्दै उनले अरूको दुःखलाई आफ्नो दुःख सम्झने, असहायलाई सहयोग गर्ने र सबैप्रति प्रेम तथा सद्भाव राख्ने संस्कार विकास गर्नुपर्ने बताए। उनका अनुसार अहंकारले मानिसलाई अरूबाट टाढा बनाउँछ भने दया र प्रेमले मानव–मानवबीचको सम्बन्धलाई बलियो बनाउँछ।

सत्संगले मानिसलाई आत्मचिन्तन र जीवनको वास्तविक उद्देश्य बुझ्ने अवसर दिने उल्लेख गर्दै रावलले धन–सम्पत्तिबाट प्राप्त गर्न नसकिने आनन्द र शान्ति आध्यात्मिक चेतनाबाट प्राप्त हुने बताए। ब्रह्मज्ञानले मानिसभित्र रहेका भ्रम, अन्धविश्वास र अनावश्यक भय हटाउँदै जीवन र जगत्लाई सही दृष्टिले बुझ्ने क्षमता विकास गर्ने उनको भनाइ थियो।

उनले अर्को चर्चित दोहा, “दुःख में सुमिरन सब करे, सुख में करे न कोय” को भावसमेत प्रस्तुत गर्दै मानिसले दुःख पर्दा मात्र परमात्माको स्मरण गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। दुःखमा परमात्मालाई सम्झनु स्वाभाविक भए पनि सुख र समृद्धिका समयमा पनि परमात्माप्रति कृतज्ञ रहन सक्नु नै सच्चा आध्यात्मिक चेतना भएको उनले बताए।

मानव जीवन अत्यन्त मूल्यवान् भएकाले यसलाई लोभ, मोह, ईर्ष्या, अहंकार र विभेदमा खेर फाल्न नहुने बताउँदै अध्यक्ष रावलले “नर सेवा नारायण पूजा”को भावनालाई व्यवहारमा उतार्न आग्रह गरे। मानिसको सेवा गर्नु नै परमात्माको सेवासरह भएको भाव आत्मसात् गर्दै जात, धर्म, वर्ग वा अन्य कुनै आधारमा विभेद नगरी एक–अर्काको सुख–दुःखमा साथ दिनुपर्ने उनले बताए।

विपद्, दुःख र संकटका समयमा मानवताको वास्तविक परीक्षा हुने उल्लेख गर्दै उनले प्रेम, दया र सेवाभावलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। सेवा, सत्संग र सुमिरनलाई जीवनको अभिन्न अंग बनाउन आग्रह गर्दै रावलले आध्यात्मिक ज्ञानलाई केवल सुन्ने विषयमा सीमित नराखी दैनिक व्यवहारमा उतार्न सके मात्र त्यसको वास्तविक अर्थ सार्थक हुने बताए।

आध्यात्मिक चेतनासहितको मानवताले समाजमा प्रेम, सद्भाव, शान्ति र एकताको वातावरण निर्माण गर्ने उल्लेख गर्दै उनले सत्संगबाट प्राप्त ज्ञानलाई जीवनमा व्यवहारिक रूपमा लागू गर्न सबैलाई आग्रह गरे।

बौनियामा आयोजित सत्संगमा बोल्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रीय सेवादल सञ्चालक नर बहादुर बटालाले मानिसले शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि विभिन्न उपाय तथा ‘लफिङ सेन्टर’ सञ्चालन गरे पनि सत्संगबाट प्राप्त हुने आनन्द र सुकुन अतुलनीय रहेको बताएका छन्।

उनले सत्संग, सेवा र सुमिरनलाई जीवनलाई सहज, सुखद र सार्थक बनाउने गुरुबाट प्राप्त अमूल्य अवसरका रूपमा लिन आग्रह गरे। जीवनमा सुकुन र आनन्द प्राप्त गर्न संसारका विभिन्न केन्द्र धाउनुभन्दा सत्संगको दुई घण्टामै प्राप्त हुने शान्ति महत्वपूर्ण रहेको बताउँदै उनले गुरुको मार्गदर्शनअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए।

बटालाले बौनियामा देखिएको उत्साह र साधसंगतको उपस्थितिले आफूलाई अत्यन्त खुसी बनाएको बताउँदै सत्संगबाट प्राप्त हुने आनन्द र परमात्माको सुकुन बौनियाका प्रत्येक बासिन्दाको जीवनमा पुग्नुपर्ने बताए। उनका अनुसार संसारमा जन्मिनु मात्र जीवन होइन, गुरुबाट जीवन जिउने कला सिकेर त्यसलाई व्यवहारमा उतार्नु नै जीवनको वास्तविक सार हो।

दुईदिने सत्संग तथा कार्यक्रमका क्रममा प्राप्त हुने हरेक सेवाको आदेशलाई प्रसन्नतापूर्वक पूरा गर्न उनले साधसंगतलाई आग्रह गरे। सेवादल भनेको खाकी पोसाक लगाएर ड्युटीमा उभिनु मात्र नभई सेवा, प्रेम र आत्मीयताका माध्यमबाट बाहिरबाट आउने सन्त–महात्मा तथा साधसंगतलाई खुसी र सहज वातावरण प्रदान गर्नु रहेको उनले बताए।

कार्यक्रममा बौनियाका सेवादललाई अतिथि तथा साधसंगतको स्वागत, जुत्ता–चप्पल व्यवस्थापनलगायत अन्य सेवाको जिम्मेवारी दिइएको छ भने मोतीपुरका महात्मालाई लंगर व्यवस्थापनको जिम्मेवारी दिइएको उनले जानकारी दिए। देशभरबाट आउने सन्त–महात्मालाई प्रेम, नम्रता र सेवाभावका साथ स्वागत गर्दै गुरुको आशीर्वादको पात्र बन्न उनले सबैलाई आग्रह गरे।

सन्त निरंकारी मण्डल नेपालको ३७औँ साधारण सभा कैलालीको बौनियामा आयोजना हुने भएको छ। साधारण सभाको अवसरमा असोज ३ गते शनिबार बिहान १० बजेदेखि साढे १२ बजेसम्म विशाल सत्संग आयोजना गरिने सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले जानकारी दिए।

रिमालका अनुसार सत्संगमा मेचीदेखि महाकाली तथा काठमाडौंलगायत देशका विभिन्न स्थानबाट सन्त–महात्मा र साधसंगतको सहभागिता रहनेछ। सत्संगमा सहभागी सबैका लागि लंगर प्रसादको व्यवस्था गरिएको छ। बौनिया तथा आसपासका साधसंगतलाई परिवारसहित सत्संगमा सहभागी हुन उनले आग्रह गरे।

सत्संगपछि देशभरबाट सहभागी हुने मुखिया, प्रमुख, सेवादल अधिकारी तथा ज्ञान प्रचारकका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। असोज ४ गते बिहान १० बजे साधारण सभाको उद्घाटन सत्र सुरु हुनेछ। उद्घाटनपछि लंगर प्रसादसहित मण्डलका गतिविधि, आगामी कार्ययोजना तथा संस्थागत विषयमा छलफल हुने रिमालले बताए।

सन्त निरंकारी मण्डल नेपाल सरकारमा दर्ता भएको संस्था भएकाले वार्षिक गतिविधि तथा आगामी कार्ययोजनाको समीक्षा गरी आवश्यक प्रक्रिया अघि बढाउन साधारण सभा आयोजना गरिएको उनले बताए। कार्यक्रममा आउने सन्त–महात्मालाई प्रेम, नम्रता र आत्मीयताका साथ स्वागत गर्दै कार्यक्रमलाई व्यवस्थित बनाउन बौनियाका साधसंगतलाई समेत उनले आग्रह गरेका छन्।

सत्संग कार्यक्रममा लक्ष्मी जी, जवाहर सिंह कसेरा जी, कल्पना थापा जी, नन्दराम ओझा जी, रोशनी जी, रामप्रसाद जोशी जी, प्रकाश जोशी जी, विर्ख बुढा जी, पार्वती एवं साथी, पूर्ण रुमाल जी, चक्र जी, दीपक रावल, तेजबहादुर जी, लौटन जी, किशोर जी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल जी, गोकुल प्रसाद भण्डारी, ऋतिका ओझा जी, बौनिया सत्संग भवनका मुखी विजय सिंह कुँवर, धनञ्जय एवं साथी, खिमा जी, नवराज रिमाल जी, करण सिंह जी, धनधरा/धनावती तथा पार्वती जी, रचना साउँद जी, कलसी जीलगायत सन्त–भक्तहरूले भजन तथा प्रवचन प्रस्तुत गरेका थिए। प्रवचनमार्फत सन्त–भक्तहरूले सद्गुरुको आशीर्वाद र कृपाका पात्र बन्ने अवसर प्राप्त गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।