केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौ, ३० भाद्र । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
हाल कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली छ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, देशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा जलसतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
