मागेरै १२ करोडभन्दा बढी सम्पत्ति जोडेका भरत ‘विश्वकै धनि भिखारी’ !

मुम्बई । भारतको मुम्बईमा सडकमा मागेर गुजारा चलाउँदै आएका भरत जैनलाई विश्वकै धनि भिखारीका रूपमा चिनिने गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले भीख मागेरै १२ करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति जोडेको दाबी गरिएको छ।
मुम्बईका सडकमा नियमित रूपमा भीख माग्ने जैनले दैनिक २ हजारदेखि २ हजार ५ सय भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइएको छ। यही आम्दानीबाट उनले मुम्बईमा करिब २ करोड भारतीय रुपैयाँ मूल्य पर्ने दुई बेडरुमको फ्ल्याटसमेत लिएका छन्।

जैनले उक्त फ्ल्याट भाडामा लगाएर मासिक करिब ३० हजार भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको समाचारमा उल्लेख छ। भीखबाट हुने आम्दानी र घरभाडासहित उनको मासिक आम्दानी करिब ९६ हजार भारतीय रुपैयाँ रहेको अनुमान गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका व्यक्तिले भीख मागेर जीवन गुजारा गर्ने सामान्य धारणा रहे पनि जैनको अवस्था भने त्यसको ठीक विपरीत देखिन्छ। सडकमा भीख माग्ने उनको दैनिकीसँगै करोडौं रुपैयाँको सम्पत्ति जोडिएको तथ्यले धेरैलाई आश्चर्यमा पारेको छ।
यद्यपि, जैनको कुल सम्पत्ति र ‘विश्वकै धनी भिखारी’ भन्ने उपाधिबारे विभिन्न सञ्चारमाध्यममा फरक–फरक विवरण प्रकाशित भएका छन्।

