जोराघाट माविको विवाद मेलमिलापमा टुंगियो

डोटी, १७ असोज । जोराघाट माध्यमिक विद्यालयसँग सम्बन्धित शिक्षक भागिराम चौधरी, निवर्तमान प्रधानाध्यापक लोकराज विनाडी, स्थानीय अभिभावक गणेश भूल, शिक्षक–अभिभावक संघका अध्यक्ष गोविन्द विनाडी र पूर्व शिक्षक नरबहादुर थापाबीच देखिएको विवाद मेलमिलापमा टुंगिएको छ।

विवाद समाधानका लागि शिक्षा विकास तथा समन्वय इकाइ डोटी, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिलगायत सम्बन्धित पक्षले समन्वय तथा सहजीकरण गरेका थिए। सम्बन्धित पक्षबीच छलफल र सहजीकरणपछि विवाद समाधान भएको हो।

मेलमिलापपछि सम्बन्धित पक्षले विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्ने सबै सरोकारवालालाई धन्यवाद दिएका छन्। साथै विद्यालयसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेकाले सत्यतथ्य नबुझी निष्कर्षमा नपुग्न र भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न आग्रह गरिएको छ।

सम्बन्धित पक्षले कानुनी प्रक्रिया आफ्नो ठाउँमा रहेको जनाउँदै कसैले कानुन उल्लंघन गरेको भए कानुनबमोजिम कारबाही हुनुपर्ने र निर्दोष व्यक्ति नफस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन कामीले विगतका विवादलाई निरन्तरता दिनुभन्दा विद्यालयको शैक्षिक वातावरण सुधारमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताए। “हामीले विद्यालयलाई बदनाम गर्ने होइन, राम्रो काम गरेर बालबालिकाको भविष्य उज्ज्वल बनाउन लाग्नुपर्छ,” उनले भने, “विगतका विवादलाई छाडेर सबै पक्षबीच सहकार्य, समझदारी र सकारात्मक वातावरण निर्माण गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनुपर्छ। बालबालिकाको भविष्य नै हाम्रो पहिलो प्राथमिकता हो।”
विवाद समाधान भएसँगै विद्यालयमा सहकार्य र समझदारीको वातावरण बनाउँदै पठनपाठन तथा शैक्षिक गुणस्तर सुधारमा अघि बढ्ने अपेक्षा गरिएको छ।

