बाढीपीडितका लागि मुम्बईमा रहेका नेपालीले संकलन गरे १६ लाख १७ हजार

मुम्बई, ३ अक्टूम्बर । नेपालका भोटेकोशी, रसुवा, धादिङ र नुवाकोटमा आएको प्राकृतिक विपद्का पीडितका लागि भारतको मुम्बईस्थित संयुक्त नेपाली महासंघले १६ लाख १७ हजार ६ सय रुपैयाँ राहत रकम संकलन गरेको छ।

महासंघले बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आफ्ना निर्धारित कार्यक्रम स्थगित गरी राहत कोषमार्फत चन्दा संकलन अभियान सञ्चालन गरेको थियो। गत ३० अगस्ट र ६ सेप्टेम्बरमा आयोजना गर्ने भनिएका तीज तथा सांस्कृतिक कार्यक्रमलगायत अन्य विभागीय कार्यक्रमसमेत रद्द गरी राहत अभियान सञ्चालन गरिएको महासंघले जनाएको छ।

अभियानबाट रु. १६ लाख १७ हजार ६ सय संकलन भएको महासंघले जनाएको छ। संकलित रकम बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित र पीडित परिवारको राहतका लागि उपयोग गरिने बताइएको छ।

राहत अभियानमा महासंघका सल्लाहकार, पदाधिकारी, कार्यकारिणी तथा संरक्षक सदस्य, निवर्तमान तथा वर्तमान पदाधिकारी र आजीवन सदस्यसँगै भारतका विभिन्न स्थान तथा अन्य देशमा रहेका प्रवासी नेपाली र भारतीय शुभेच्छुकले सहयोग गरेका थिए।
महासंघले विपद्को समयमा पीडित परिवारको उद्धार तथा राहतका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। मातृभूमिप्रतिको दायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै अभियानमा साथ दिएको भन्दै सहयोगीप्रति धन्यवादसमेत व्यक्त गरिएको छ।
संयुक्त नेपाली महासंघका अध्यक्ष पूर्णबहादुर कुँवरले विपद्का बेला प्रवासी नेपाली समुदायले देखाएको एकता र सहयोगले मानवीय संवेदनालाई थप बलियो बनाएको बताए। महासंघले ‘मानवता नै हाम्रो धर्म र एकता नै हाम्रो शक्ति’ भन्ने भावनासहित राहत अभियान सञ्चालन गरेको जनाएको छ।
महासंघका महासचिव भीमराज गैरे र कोषाध्यक्ष राज रावलले पनि अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका छन्।

