आस्था /आध्यात्म

थारू समुदायका लोपोन्मुख कला, संस्कृति र परम्परा खोजेर संरक्षण गर्नुपर्नेमा जोड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ कार्तिक । पूर्व प्रदेशसभा सदस्य कृष्ण चौधरीले थारू समुदायका मौलिक कला, संस्कृति, परम्परा, लोकगीत, लोकबाजा तथा पुराना संस्कार लोप हुँदै गएकाले तिनको खोजी, संरक्षण र पुस्तान्तरण गर्नुपर्ने बताएका छन् । उनले समुदायको मौलिक सम्पत्ति जोगाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय सरकारलाई भाषा, संस्कृति र परम्पराको संरक्षणमा विशेष जोड दिन आग्रह गरेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ४ द्वारा दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित सांस्कृतिक शुभमिलन कार्यक्रममा मन्तव्य राख्दै चौधरीले थारू समुदायका पुराना सांस्कृतिक सम्पत्ति र परम्परागत अभ्यास विस्तारै हराउँदै गएको बताए ।

लोक कल्याणकारी विज्ञापन

उनले थारू समुदायमा प्रचलित छत्री, मौरैइनका पटिया, गोरधैनी मचिया, चिरगेजार, नेवा, कर्ती, सजना तथा परम्परागत बाजागाजाका धुन र आवाजजस्ता मौलिक सम्पदाको खोजी गर्नुपर्ने बताए । त्यसैगरी खोजे सामा, अङ्गिक धान, न्युटा दिने चलन, हरदी गाँठ, पोक्ता प्रतिलगायत विवाह तथा सामाजिक संस्कारसँग जोडिएका परम्पराको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

लोक कल्याणकारी विज्ञापन
AD

‘कहाँ हराए हाम्रा सम्पत्ति ? यी सबै मिलेर खोज्नुपर्छ । हाम्रा पुराना कला, संस्कृति, परम्परा र आवाजहरू हराउँदै गएका छन् । तिनलाई खोजेर संरक्षण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने ।

चौधरीले सांस्कृतिक विविधता र आपसी सद्भावको उदाहरणसमेत प्रस्तुत गरे । कार्यक्रममा पहाडी समुदायका दिदीबहिनी तथा दाजुभाइले तिहारका देउसी–भैलो गीत प्रस्तुत गरेको र थारू समुदायका कलाकारले आफ्ना मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुति देखाएको उल्लेख गर्दै उनले यसलाई सांस्कृतिक सहअस्तित्वको सुन्दर अभ्यासका रूपमा व्याख्या गरे ।

‘आज यहाँ एउटै आँगनमा पहाडी समुदायका दिदीबहिनीहरू तिहारका गीत गाउँदै हुनुहुन्छ भने थारू समुदायका कलाकारहरू आफ्ना मौलिक नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ । यही नै हाम्रो संस्कृति र सभ्यताको मर्म हो,’ उनले भने ।

विभिन्न जातजाति र समुदायले एकअर्काको संस्कृति बुझ्ने, सम्मान गर्ने र अभ्यास गर्ने वातावरण निर्माण हुनुपर्ने उनको भनाइ थियो । स्थानीय सरकारले सबै समुदायका भाषा, संस्कृति, कला र पहिचान संरक्षणमा प्राथमिकता दिए आगामी दिनमा समाजले थप उचाइ हासिल गर्न सक्ने उनले विश्वास व्यक्त गरे । यसले राष्ट्रिय एकता र देशको समृद्धिमा समेत योगदान पुर्‍याउने उनको धारणा थियो ।

चौधरीले थारू समुदायको सामाजिक संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका भलमन्सा र बर्घरको जिम्मेवारी तथा अधिकारलाई पनि सम्बोधन गरे । भलमन्सा पदलाई सामान्य सामाजिक पदका रूपमा मात्र नबुझी जिम्मेवार र महत्वपूर्ण सामाजिक नेतृत्वका रूपमा लिनुपर्ने उनले बताए ।

उनका अनुसार परम्परागत रूपमा भलमन्सा र बर्घरले गाउँघरका देवानी प्रकृतिका विवाद तथा सामाजिक समस्यालाई आपसी छलफल र सहमतिबाट समाधान गर्दै आएका छन् । फौजदारी प्रकृतिका मुद्दाबाहेक गाउँमै मिलाउन सकिने विवादमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

‘भलमन्सा कमजोर पद होइन, यो जिम्मेवारीपूर्ण पद हो । हाम्रा पुर्खाले समाज सञ्चालनका लागि भलमन्सा र बर्घरलाई विभिन्न जिम्मेवारी र अधिकार दिएका थिए । देवानी प्रकृतिका विवाद गाउँमै मिलाउने परम्परा थियो, जसले गर्दा सामान्य विवाद लिएर अदालत धाउनुपर्ने अवस्था आउँदैनथ्यो,’ उनले भने ।

उनले भलमन्सा तथा बर्घरको परम्परागत भूमिकालाई समयअनुसार परिमार्जन गर्दै थप अधिकार र कानुनी मान्यता दिनुपर्ने बताए । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको आग्रह थियो ।

भलमन्सा र बर्घरको सामाजिक भूमिकालाई व्यवस्थित गर्दै कानुनी रूपमा स्पष्ट अधिकार प्रदान गर्न सके स्थानीयस्तरमै विवाद समाधान, सामाजिक सद्भाव र समुदायको व्यवस्थापनमा थप सहयोग पुग्ने चौधरीको विश्वास थियो ।

उनले थारू समुदायका मौलिक सम्पत्ति र सामाजिक संस्थाहरूको संरक्षणका लागि समुदाय स्वयं जागरुक हुनुपर्ने तथा तीनै तहका सरकारले आवश्यक नीति, कानुन र कार्यक्रममार्फत सहयोग गर्नुपर्नेमा जोड दिए ।

बिज्ञापन