बिल्डरको घरमा ८० लाखको चोरी, चार वर्षपछि डोटीका आरोपी पक्राउ

हरिद्वार, २६ कार्तिक । भारतको उत्तर प्रदेशस्थित मेरठमा एक बिल्डरको घरबाट करिब ८० लाख भारतीय रुपैयाँ बराबरका सुनका गहना तथा नगद चोरी गरेको आरोपमा चार वर्षदेखि फरार रहेका डोटीका लाल भीम भूल पक्राउ परेका छन् । उनलाई भारतीय प्रहरीले फेसबुकमार्फत महिला प्रहरीसँग मित्रता गराई भेट्ने बहानामा हरिद्वार बोलाएर पक्राउ गरेको हो ।
मेरठका एसपी सिटी विनय भोसलेका अनुसार नेपालमा लुकेर बसेको सूचना पाएपछि प्रहरीले भूलको खोजी तीव्र बनाएको थियो । करिब एक महिनादेखि उनको गतिविधिमाथि निगरानी गरिरहेको प्रहरीले महिला प्रहरीमार्फत फेसबुकमा मित्रता गराएको थियो । त्यसपछि मोबाइल नम्बर आदानप्रदान गरी निरन्तर कुराकानी गर्दै भेट्ने प्रस्ताव राखिएको थियो ।

महिला प्रहरीसँग भेट्न नेपालबाट हरिद्वार पुगेका भूललाई भेटघाटका लागि जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि सन् २०२२ डिसेम्बर २० मा १० हजार भारतीय रुपैयाँ पुरस्कारसमेत घोषणा गरिएको थियो । पक्राउपछि अदालतमा पेस गरी कानुनी प्रक्रिया पूरा गरेर जेल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरीको घटना सन् २०२२ नोभेम्बर २० मा मेरठको टीपी नगर थाना क्षेत्रअन्तर्गत कमला नगरस्थित ट्रान्सपोर्ट एसोसिएसनका पूर्वअध्यक्ष तथा बिल्डर प्रदीप गुप्ताको घरमा भएको थियो । गुप्ताको परिवार छोरी सान्त्वना गुप्ताको इन्गेजमेन्ट समारोहमा सहभागी हुन दिल्लीस्थित ताज होटल गएको समयमा घरमा चोरी भएको थियो ।
घरको सुरक्षाका लागि सुरक्षा गार्ड मनोज र नेपाली कामदारलाई जिम्मा दिइएको थियो । प्रहरी अनुसन्धानअनुसार घरमा काम गर्ने नेपाली कामदारले गार्ड मनोजलाई खीरमा नशालु पदार्थ मिसाएर खुवाएका थिए । गार्ड बेहोस भएपछि आफ्ना अन्य चार जना साथीलाई बोलाएर घरबाट करिब ८० लाख भारतीय रुपैयाँ बराबरका सुनका गहना तथा नगद चोरी गरी उनीहरू फरार भएका थिए ।
प्रहरीका अनुसार चोरीमा संलग्न नेपाली कामदारले घटनाभन्दा तीन दिनअघि मात्रै प्रदीप गुप्ताको घरमा काम सुरु गरेका थिए । उनी सुरुमा अमन सिद्धूको एजेन्सीमार्फत कार्यालयमा काम गर्न आएका थिए । छोरीको विवाहको तयारीका क्रममा उनलाई घरको काममा समेत खटाइएको थियो । परिवारको विश्वास जितेपछि घरमा कोही नभएको मौका छोपेर चोरीको योजना बनाइएको प्रहरीको दाबी छ ।
यस घटनामा संलग्न रहेको आरोपमा मुम्बईका लक्ष्मण र पुणेका नरेश कुमारलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । उनीहरू धरौटीमा रिहा भएको बताइएको छ । अर्का नेपाली आरोपी लालबहादुर जेलमा रहेको प्रहरीले जनाएको छ भने सुरेन्द्र कटवाल उर्फ बिल्टिक अझै फरार छन् । लाल भीम भूल पनि यही चोरी प्रकरणमा संलग्न रहेको आरोपमा लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।

